नेपालको इतिहासमा केही रातहरू यस्ता छन्, जुन बिहान भएपछि देश पहिलेको जस्तो रहँदैन। कोतपर्वको रात त्यस्तै थियो। भण्डारखालको रात पनि त्यस्तै थियो। समय फेरियो। शासन फेरियो। पुस्ता फेरिए। तर सत्ता, शक्ति र असन्तोषको कथा फेरि-फेरि नयाँ रूप लिएर फर्किरह्यो। यसपटक स्थान थियो, “माइतीघर।” त्यसैले इतिहासका पुराना पाना पल्टाउनेहरूले यस घटनालाई व्यंग्य गर्दै नयाँ नाम दिए- “माइतीघर पर्व।” यो नाम कुनै सरकारी इतिहासको किताबमा लेखिएको थिएन। कसैले राजकीय घोषणा गरेको थिएन। जनताको स्मृतिमा जन्मिएको एउटा नाम थियो।
कोतबाट माइतीघरसम्म
राणाकालमा कोत केवल एउटा ठाउँ थिएन। त्यो शक्ति जम्मा हुने ठाउँ थियो। त्यहाँ भएको एउटा हिंसात्मक घटनाले नेपालको शासनको दिशा नै बदलिदियो। त्यसपछि शक्ति केही हातमा केन्द्रित भयो र लामो समयसम्म देशमा राणा शासन चल्यो।
भण्डारखाल पनि त्यसै शक्ति संघर्षको अर्को अध्याय बन्यो। त्यो समयको राजनीति दरबार, भारदार र हतियार वरिपरि घुम्थ्यो। जनताको भूमिका सीमित थियो। निर्णय केही शक्तिशाली मानिसले गर्थे, परिणाम भने आम जनताले भोग्थे। तर समय सधैं एउटै ठाउँमा रोकिँदैन। राजतन्त्र आयो। प्रजातन्त्र आयो। पञ्चायत आयो। फेरि बहुदल आयो। गणतन्त्र आयो। शासनको नाम बदलियो। तर एउटा प्रश्न भने उस्तै रह्यो। सत्ता कसका लागि ? अनि माइतीघर आयो।
माइतीघरमा भेला हुने पुस्ता राणा शासनको भारदार थिएन। उनीहरूको हातमा बन्दुक थिएन। उनीहरू कुनै दरबार कब्जा गर्न निस्केका थिएनन्। उनीहरूको हातमा मोबाइल थियो। कसैको हातमा प्लेकार्ड थियो। कसैको हातमा नेपालको झण्डा। कसैको मुखमा नारा थियो। र धेरैको मनमा एउटै प्रश्न थियाे। “हाम्रो भविष्य कसले बनाउने ?” यो जेन-जी पुस्ता थियो। उनीहरूका लागि राजनीति पुरानो पुस्ताले बनाएको एउटा टाढाको खेलजस्तो थियो। तर त्यस खेलको परिणाम उनीहरूको जीवनमा प्रत्यक्ष देखिन्थ्यो। रोजगारीमा, शिक्षामा, विदेश जाने बाध्यतामा, महँगीमा, अवसरको असमानतामा र सामाजिक सञ्जालमा फैलिने सूचनाको अराजकतामा। उनीहरू पुराना भाषण सुनेर मात्र चुप लाग्ने पुस्ता थिएनन्। उनीहरूले प्रश्न गर्न थाले।
किन ?
किन यस्तो ?
किन हामीले यस्तो सहनुपर्ने ?
माइतीघरको रात
त्यो दिन माइतीघरमा मानिसहरू जम्मा भए।
सुरुमा कसैले त्यसलाई सामान्य प्रदर्शन सम्झियो।
‘केही बेरमा घर जान्छन्।’
‘यिनीहरूलाई राजनीति के थाहा ?’
अर्को आवाज आयो।
‘सामाजिक सञ्जालले उचालेका केटाकेटी हुन्।’
तर भीड बढ्दै गयो। नारा बढ्दै गयो। आक्रोश बढ्दै गयो। र राज्यको कानमा पनि आवाज पुग्यो। त्यसपछि वातावरण बदलियो। जहाँ संवाद हुनुपर्ने थियो, त्यहाँ तनाव बढ्यो। जहाँ प्रश्नको उत्तर दिनुपर्ने थियो, त्यहाँ शक्ति प्रदर्शनको भाषा सुनिन थाल्यो।
इतिहासमा कोतपर्व र भण्डारखालले एउटा कुरा सिकाउँछन्। जब सत्ता र असन्तोषबीच संवादको बाटो बन्द हुन्छ, सानो आगो पनि ठूलो राजनीतिक विस्फोट बन्न सक्छ। माइतीघरको कथा भने फरक थियो। यहाँ पुराना भारदारहरू थिएनन्। यहाँ दरबारको षड्यन्त्र मात्र थिएन। यहाँ नयाँ पुस्ताको आक्रोश थियो। र त्यो आक्रोशको पछाडि वर्षौंको जमेको असन्तुष्टि थियो।
पर्व किन ?
‘पर्व’ शब्द सुन्दा उत्सव सम्झिन्छौँ। तर नेपालको राजनीतिक इतिहासमा ‘पर्व’ कहिलेकाहीँ उत्सव होइन, सत्ताको निर्णायक मोडको नाम बनेको छ।
कोतपर्व भयो- सत्ता बदलियो।
भण्डारखाल भयो- सत्ता संघर्षको अर्को अध्याय खुल्यो।
माइतीघर पर्व भयो- सत्ता कसरी चलाउने भन्ने पुरानो शैलीमाथि नयाँ पुस्ताले प्रश्न उठायो।
तर यी तीन घटनालाई एउटै प्रकृतिका घटना भन्न मिल्दैन। कोतपर्व र भण्डारखाल मूलतः तत्कालीन शक्ति संघर्ष र दरबारी राजनीतिसँग जोडिएका ऐतिहासिक घटनाहरू थिए। माइतीघरको घटना भने जनस्तरबाट उठेको समकालीन असन्तोषको अभिव्यक्ति थियो। फरक धेरै छन्। तर एउटा समानता भने देखिन्छ- जमेको असन्तोषले कुनै न कुनै दिन विस्फोटको बाटो खोज्छ।
इतिहासको सबैभन्दा ठूलो गल्ती
इतिहासको सबैभन्दा ठूलो गल्ती के हो भने हामी घटनाबाट पाठ सिक्दैनौँ। हामी कोतपर्व पढ्छौँ, तर शक्ति केन्द्रीकरणको खतरा बिर्सन्छौँ। भण्डारखाल पढ्छौँ, तर सत्ता संघर्षले समाजलाई कहाँ पुर्याउँछ भन्ने बिर्सन्छौँ। लोकतन्त्रका लागि भएका आन्दोलन सम्झन्छौँ, तर लोकतन्त्र भनेको केवल चुनाव होइन भन्ने बिर्सन्छौँ। लोकतन्त्रमा जनताको आवाज सुन्नुपर्छ। आलोचना सहनुपर्छ। प्रश्नको उत्तर दिनुपर्छ। र सबैभन्दा महत्वपूर्ण कुरा- नयाँ पुस्तालाई शत्रु होइन, भविष्यको साझेदारका रूपमा हेर्नुपर्छ।
माइतीघरले छोडेको प्रश्न
माइतीघर पर्वको वास्तविक अर्थ ढुंगा, आगो, नाराबाजी वा भिडन्तमा खोजेर मात्र भेटिँदैन। त्यो घटनाले राज्यलाई एउटा प्रश्न सोध्यो- तिमीले नयाँ पुस्तालाई कति सुनेका छौ ? र नयाँ पुस्तालाई पनि अर्को प्रश्न सोध्यो- तिमीले परिवर्तन खोज्दा कस्तो समाज बनाउन चाहेका छौ ? किनकि सत्ता बदल्नु मात्र परिवर्तन होइन। अनुहार बदल्नु मात्र परिवर्तन होइन। पुरानो नेतृत्वलाई गाली गरेर नयाँ नेतृत्व जन्मिँदैन। नयाँ पुस्ताले जिम्मेवारी पनि लिनुपर्छ।
प्रश्न गर्ने अधिकारसँगै उत्तरदायित्व पनि स्वीकार गर्नुपर्छ।
कोत, भण्डारखाल र माइतीघर
कोतले नेपाललाई एउटा कठोर सत्ता संरचनातर्फ धकेल्यो। भण्डारखालले त्यो सत्ता संघर्षको अर्को रक्तरञ्जित अध्याय देखायो। माइतीघरले भने लोकतान्त्रिक गणतन्त्रमा नयाँ पुस्ताको धैर्य कति सकिएको छ भन्ने प्रश्न अगाडि ल्यायो। तीनवटैलाई एउटै तराजुमा राखेर हेर्न मिल्दैन। तर तीनवटै घटनाले एउटा गहिरो सत्य सम्झाउँछन्। सत्ता जनताबाट टाढिँदै गयो भने इतिहास आफैँले नयाँ अध्याय खोल्छ। त्यसैले ‘माइतीघर पर्व’लाई अर्को रक्तरञ्जित इतिहास बनाउनु हुँदैन। यसलाई चेतावनीको रूपमा सम्झनुपर्छ।
कोतपर्व र भण्डारखालको इतिहासले हामीलाई हिंसाको परिणाम देखाएको छ। माइतीघरले संवादको आवश्यकता सम्झाएको छ। अब प्रश्न हामीसामु छ। माइतीघरपछि नेपालले अर्को ‘पर्व’ खोज्ने हो कि त्यहीँबाट संवाद, सुधार र सहकार्यको नयाँ अध्याय सुरु गर्ने हो ? इतिहास दोहोरिनैपर्छ भन्ने छैन। इतिहासबाट सिक्न पनि सकिन्छ। र सायद माइतीघर पर्वको सबैभन्दा ठूलो अर्थ यही हो- अब परिवर्तन रगतबाट होइन, विचारबाट खोजौँ।
लेखक
राजुराम राउत
हेटौंडा २
प्रतिकृया दिनुहोस्





