घण्टी हरायो, छहारी हरायो- तर बाल्यकाल कहाँ हराउँछ र ?

समय कति निर्दयी हुँदो रहेछ! हिजोसम्म आँखाअगाडि देखिएका दृश्यहरू आज सम्झनाको धमिलो पर्दाभित्र लुकेर बस्दारहेछन्। कुनै बेला हामीले सामान्य ठानेका वस्तुहरू नै पछि गएर जीवनका सबैभन्दा अमूल्य सम्पत्ति बन्न पुग्दा रहेछन्। त्यतिबेला हामीलाई के थाहा- समीको एउटा रुख, विद्यालयको एउटा घण्टी, कक्षाकोठाको एउटा झ्याल, चौरको एउटा कुनो र गुरुको एउटा मुस्कान पनि कुनै दिन हाम्रो सम्पूर्ण बाल्यकालको प्रतीक बन्नेछ भनेर!
त्यो समीको रुख…
अनि अलि पर डुन्डाएर झुन्ड्याइएकाे त्यो भिमकाय घण्टी…
आज दुवै इतिहास भइसके…
विकास आवश्यक छ। समयसँगै संरचना फेरिनुपर्छ। पुराना भवन भत्किन्छन्, नयाँ भवन बन्छन्। साँघुरा बाटाहरू फराकिला हुन्छन्। पुराना रुखहरू ढल्छन्, नयाँ बिरुवाहरू रोपिन्छन्। संसार अघि बढ्छ। तर मन भने त्यहीँ अड्किएर बस्दोरहेछ- जहाँ हामीले बाल्यकाल छाडेर आएका हुन्छौँ। कहिलेकाहीँ सोच्दछु, विकासले पुराना संरचनाहरूलाई प्रतिस्थापन गर्न सक्छ, तर तिनमा टाँसिएका हाम्रा स्मृतिहरूलाई किन प्रतिस्थापन गर्न सक्दैन ?
सायद स्मृति इँटा, ढुंगा र काठले बनेको संरचना होइन। त्यो त समयको भित्तामा मनले कोरेको चित्र हो, जसलाई कुनै डोजरले भत्काउन सक्दैन।
त्यो घण्टी…
हाम्रो लागि त्यो केवल घण्टी थिएन।
त्यसको आवाजमा विद्यालयको दिन सुरु हुन्थ्यो, त्यसकै आवाजमा छुट्टीको प्रतीक्षा हुन्थ्यो। कहिलेकाहीँ पढ्न दिक्क लाग्थ्यो। किताबका अक्षरहरू आँखामा तैरिन्थे तर मन भने कक्षाकोठाभन्दा बाहिर कतै पुगिसकेको हुन्थ्यो। त्यतिबेला हाम्रा आँखाहरू घण्टीतिर तेर्सिन्थे। पालेदाइ घण्टी बजाउनतिर जालान् कि ?
कहिले बज्ला ?
कति बेर बाँकी होला ?
बाल्यकालका ती साना प्रतीक्षाहरू कति ठूला खुसी थिए!
अनि घण्टीमुनि कुखुरा बनाएर पाएको सजाय!
त्यतिबेला त्यो सजाय ठूलो अन्यायजस्तो लाग्थ्यो। घुँडा दुख्थ्यो, शरीर गल्थ्यो, मन रिसाउँथ्यो। तर आज सम्झँदा त्यही सजाय पनि बाल्यकालको सबैभन्दा मिठो स्मृतिमध्ये एउटा बनेर बसेको छ।
समयले पनि अचम्म गर्छ। त्यतिबेला दुःख लागेका कुराहरू आज सम्झँदा मुस्कान आउँछ। त्यतिबेला सामान्य लागेका कुराहरू आज अमूल्य लाग्छन्।
घण्टी अफ भएपछि समीको रुख हाम्रो अर्को संसार थियो। त्यसको छहारीमा बस्दा लाग्थ्यो- संसार यहीँ अडिएको छ। गर्मीको दिनमा त्यो रुखले दिएको शीतलता केवल शरीरका लागि थिएन, त्यो त मनका लागि पनि छहारी थियो। साथीहरू हुन्थे। हाँसो हुन्थ्यो। गफ हुन्थ्यो। कहिलेकाहीँ झगडा पनि हुन्थ्यो। केही क्षणमै मिलाप हुन्थ्यो।
कति सरल थियो त्यो समय! न मोबाइल थियो, न सामाजिक सञ्जाल। न त हामीसँग संसारभरिका मानिसहरूसँग कुरा गर्ने सुविधा थियो। हाम्रो संसार भनेको विद्यालयको आँगन थियो, साथीहरूको समूह थियो, गुरुहरूको अनुहार थियो र घर फर्किएपछि आमाबुबाको आवाज थियो। सायद त्यसैले त्यो संसार यति सुन्दर थियो।
आज त्यही ठाउँमा विकासका नयाँ संरचनाहरू उभिएका छन्। समयले आफ्नो काम गरेको छ। पुरानोलाई हटाएर नयाँलाई ठाउँ दिएको छ। तर मेरो मनले त्यो परिवर्तन स्वीकार्न सकेको छैन। त्यहाँ उभिँदा कहिलेकाहीँ आँखाले नयाँ संरचना देख्छ, तर मनले पुरानो समीको रुख खोज्छ। कानले वर्तमानको आवाज सुन्छ, तर मनले त्यही पुरानो घण्टीको टनटनाहट सुन्छ। आँखाले आजको विद्यालय देख्छ, तर स्मृतिले पुरानो कक्षाकोठाको ढोका खोलिदिन्छ।
सायद यही हो- स्मृतिको शक्ति। तर अहिले एउटा अर्को डर पनि लाग्न थालेको छ। उमेरसँगै मानिसले बिर्सन थाल्छ रे। स्मृतिका पानाहरू विस्तारै धमिलिँदै जान्छन् रे। कतै त्यही बिर्सने रोगले मेरा यी अमूल्य सम्झनाहरू पनि मबाट खोस्ने त होइन ? यदि कुनै दिन मैले त्यो घण्टी सम्झन सकिनँ भने?
यदि कुनै दिन समीको रुख कहाँ थियो भनेर सम्झन सकिनँ भने ? यदि कुनै दिन मेरा गुरुहरूको अनुहार स्मृतिको भीडमा हरायो भने ?
त्यो दिन म कस्तो हुनेछु ?
म कसरी मेरा नातानातिनीहरूलाई सुनाउनेछु त्यो घण्टीको कथा ?
कसरी भन्ने- एउटा विशाल घण्टी थियो, जसको आवाजले एउटा पुस्ताको दिनचर्या चल्थ्यो भनेर ?
कसरी देखाउनेछु त्यो समीको रुख, जसको छहारीमा मेरो बाल्यकाल हुर्किएको थियो ?
वस्तुहरू आँखाअगाडि हुँदा सम्झनाहरूलाई पनि एउटा आधार हुँदो रहेछ। कुनै पुरानो भवन देख्दा अचानक बाल्यकाल फर्किन्छ। कुनै पुरानो घण्टी देख्दा मनभित्र वर्षौँदेखि बन्द रहेको ढोका खुल्छ।
तर अब समयक्रममा त्यो घण्टी रहेन भने।
समीको रुख पनि रहेन भने।
त्यसैले कहिलेकाहीँ आफ्नै स्मृतिसँग डर लाग्छ।
कठै मेरा सम्झना!
घिसिङ सर…
गोकुल सर…
नरेश सर…
पुरण सर…
गौरी सर…
जयन्ती मिस…
रविवदन म्याम…
लक्ष्मी प्रपन्न सर…
निर्मल सर…
यी नामहरू उच्चारण गर्दा आज पनि मनभित्र एउटा पुरानो विद्यालय जाग्छ। कुनै अनुहार मुस्कुराउँछ। कुनै आवाज सुनिन्छ। कुनै कक्षाकोठाको ढोका खुल्छ। कुनै पुरानो पाठ सम्झना आउँछ। र त्यसपछि अनायासै टाउको झुक्छ।
गुरुहरूलाई देख्नेबित्तिकै आदरले उठ्ने ती हातहरू सम्झन्छु। कुनै निर्देशन बिना नै उठ्ने ती हातहरू- जसलाई आजको भाषामा ‘शिष्टाचार’ भन्न सकिएला, तर हाम्रो समयमा त्योभन्दा धेरै ठूलो कुरा थियो।
त्यो संस्कार थियो।
त्यो श्रद्धा थियो।
त्यो सम्बन्ध थियो।
गुरुलाई देख्दा ओठमा आफैँ फुल्ने त्यो आदरयुक्त मन्द मुस्कान पनि कति स्वाभाविक थियो! आज पनि ती गुरुहरू कतै भेटिए भने मेरो शरीरले त्यही पुरानो संस्कार सम्झेला कि ?
देख्नेबित्तिकै हात जोडिएला कि ?
टाउको झुक्ला कि ?
ओठमा उही मन्द मुस्कान आउला कि ?
सायद आउँछ।
किनकि शरीर बूढो हुन सक्छ, समय फेरिन सक्छ, विद्यालय बदलिन सक्छ, घण्टी हराउन सक्छ, समीको रुख ढल्न सक्छ- तर साँचो संस्कार यति सजिलै मर्दैन।
त्यसैले त स्मृति केवल विगत होइन रहेछ।
स्मृति त हाम्रो अस्तित्वको एउटा हिस्सा रहेछ।
हामीले जे भोग्यौँ, जसलाई माया गर्‍यौँ, जसबाट सिक्यौँ, जसलाई सम्मान गर्‍यौँ- ती सबै हाम्रो भित्र कतै न कतै बाँचेका हुँदा रहेछन्।
आज त्यो घण्टी छैन।
त्यो समीको रुख छैन।
तर मेरो बाल्यकाल अझै त्यहीँ छ।
मेरो मनको कुनै कुनामा एउटा विद्यालय अझै उभिएको छ। त्यहाँ घण्टी अझै झुन्डिएको छ। पालेदाइ अझै घण्टी बजाउन हिँडिरहेका छन्। कुनै कुनामा म अझै पढ्न दिक्क मानेर घण्टीतिर आँखा तेर्साइरहेको छु। समीको छहारीमुनि साथीहरू अझै हाँसिरहेका छन्। र कक्षाकोठाको ढोकामा मेरा गुरुहरू अझै उभिनुभएको छ।
त्यसैले अब लाग्छ….
विकासले संरचना भत्काउँछ, समयले वस्तुहरू हराउँछ, उमेरले शरीर थकाउँछ; तर मनले जोगाएर राखेका स्मृतिहरूलाई पूर्णतः मेटाउने शक्ति कसैसँग हुँदैन।
जब जब पुरानो घण्टीको आवाज कतैबाट सुनिन्छ, म फेरि त्यही बालक हुन्छु। जब कुनै समीको रुखको छहारीमा पुग्छु, म फेरि त्यही विद्यालयको आँगनमा पुग्छु। जब कुनै पुरानो गुरुको नाम सुन्छु, मेरा हातहरू आफैँ आदरमा जोडिन्छन्।
र त्यतिबेला लाग्छ…
घण्टी हराएको होइन रहेछ,
समीको रुख ढलेको होइन रहेछ,
विद्यालय पुरानो भएको होइन रहेछ।
ती सबै त मेरो स्मृतिभित्र सरेका रहेछन्। तर एउटा प्रार्थना छ समयसँग…
जब शरीरले सबै कुरा बिर्सन थाले पनि मेरो मनले त्यो घण्टीको आवाज नभुलोस्। जब आँखाले नयाँ संसार देख्न थाले पनि, स्मृतिले त्यो समीको छहारी खोजिरहोस्। जब मेरा नातानातिनीहरूले ‘हजुरबुबा, तपाईंको विद्यालय कस्तो थियो ?’ भनेर सोधून्,
मसँग सुनाउन एउटा कथा बाँकी रहोस्।
र त्यो कथाको अन्त्यमा म भन्न सकूँ…
“हाम्रो विद्यालयमा एउटा भिमकाय घण्टी थियो, एउटा समीको रुख थियो, केही अत्यन्त प्रिय गुरुहरू हुनुहुन्थ्यो… अनि त्यहीँ कतै एउटा सानो बालक थियो, जो आज पनि आफ्नै स्मृतिको आँगनमा घण्टी बज्ने प्रतीक्षामा उभिएको छ।”
कठै मेरा सम्झना…
तिमीहरू नहराऊ है!
लेखक
राजुराम राउत
हेटौंडा- २

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.