आन्दोलनबाट सत्तासम्म : के ओलीको ‘अनकन्टक नेतृत्व’ नै एमालेको स्खलनको कारण बन्दैछ ?

पहिला राजनीतिक दलहरू प्रतिबन्धित थिए। पञ्चायती व्यवस्था सर्वसत्तावादी थियो। नागरिकका राजनीतिक अधिकार सीमित थिए। त्यसैले आन्दोलनहरू भइरहन्थे। ती आन्दोलन केवल सत्ता परिवर्तनका लागि मात्र थिएनन्। नेतृत्व निर्माणका विश्वविद्यालय पनि थिए।

राजनीतिक दलका नेताहरू सडकमा संघर्ष गर्थे। जेल जान्थे। जनताका बीच पुग्थे र आफ्ना विचार तथा संगठनको परीक्षण गर्थे। आन्दोलनले नेताहरूलाई तिखार्ने काम गर्थ्यो। त्यही क्रममा आम जनतामाझ उनीहरूको नेतृत्व स्थापित हुन्थ्यो। संघर्षबाट आएको नेतृत्वप्रति जनताको विश्वास पनि त्यसैअनुसार गहिरो हुन्थ्यो।

तर लोकतान्त्रिक संविधान जारी भएपछि राजनीतिक परिस्थिति धेरै बदलियो। साना-तिना विरोध, आन्दोलन र असन्तुष्टि भए पनि विगतमा जस्ता ठूला राजनीतिक जनसंघर्षका कार्यक्रमहरू लगभग समाप्त भए। अब राजनीतिक नेतृत्वको परीक्षा सडकको संघर्षबाट भन्दा शासन सञ्चालन, विकास निर्माण, आर्थिक समृद्धि र जनताको जीवनस्तर परिवर्तनबाट हुन थाल्यो।

देश समृद्धितर्फ लम्कने आकांक्षासँगै नेताको मूल्यांकन गर्ने मापदण्ड पनि फेरियो। कसले कति ठूलो सपना देखाउन सक्छ ? कसले त्यसलाई व्यवहारमा उतार्न सक्छ ? कसले देशको आर्थिक सम्भावनालाई पहिचान गरेर त्यसलाई उत्पादन र रोजगारीमा बदल्न सक्छ ? अब्बल नेतृत्वको मापन यिनै प्रश्नबाट हुन थाल्यो।

यही परिवर्तित राजनीतिक वातावरणमा केपी शर्मा ओली अगाडि आए। ओलीले विकास र समृद्धिका ठूला परिकल्पना प्रस्तुत गर्दै आफ्नो छुट्टै राजनीतिक छवि निर्माण गरे। रेल, पानीजहाज, सुरुङमार्ग, ठूला पूर्वाधार, समृद्ध नेपाल र सुखी नेपालीजस्ता नाराले एउटा ठूलो आशा पैदा गर्‍यो। ओलीले नेपाली राजनीतिमा ‘ठूला सपना देखाउने नेता’को पहिचान बनाए।

तर राजनीतिमा सपना देखाउनु मात्र पर्याप्त हुँदैन। सपना पूरा गर्न संस्थागत क्षमता, सहकार्य, धैर्य, प्रशासनिक दक्षता र राजनीतिक विनम्रता पनि आवश्यक हुन्छ।

समयक्रममा आम जनमानसमा ओलीको गरिमा र प्रभावमा केही कमी आएको अनुभूति हुन थाल्यो। प्रश्न उठ्न थाले- के ओलीको राजनीतिक शक्ति उनका आफ्नै उपलब्धिभन्दा बढी उनको व्यक्तित्व र भाषणमा केन्द्रित हुन थालेको हो ? के आलोचना सुन्नेभन्दा आलोचकलाई नै समस्या ठान्ने प्रवृत्ति बढ्दै गएको हो ? अनि सबैभन्दा महत्वपूर्ण प्रश्न- कतै स्वयं ओलीलाई नै ‘म अनकन्टक नेता हुँ’ भन्ने भान पर्नु नेकपा एमालेको वर्तमान स्खलनको एउटा प्रमुख कारण त बनेन ?

समयचक्रलाई पछाडि फर्काएर हेर्ने हो भने ओलीका सरकार सञ्चालनका कार्यकालहरू पनि सहज र निर्विघ्न थिएनन्। अल्पमत र गठबन्धनकाे सरकारभित्रै असहमति, पार्टीभित्रै विवाद, गठबन्धनका जटिलता र राजनीतिक उतारचढावले उनको शासनलाई निरन्तर चुनौती दिइरहे। उनको नेतृत्व क्षमताको परीक्षण पनि यिनै परिस्थितिबीच भयो।

पार्टीभित्रको विषयमा धेरै टिप्पणी गर्नु आवश्यक छैन। त्यसको वास्तविक मूल्यांकन महाधिवेशन प्रतिनिधि, कार्यकर्ता र पार्टी संगठनले गर्ने कुरा हो। तर देश सञ्चालनको कोणबाट भने एउटा गम्भीर प्रश्न उठाउन सकिन्छ- यदि ओलीले एकपटक मात्र पाँच वर्षको पूर्ण कार्यकाल स्थिर राजनीतिक वातावरणमा, पार्टीभित्र र बाहिर पर्याप्त सहयोग तथा सहकार्यसहित सरकार सञ्चालन गर्न पाएका भए नेपाल आज कहाँ पुग्थ्यो होला ?

यो प्रश्न ओलीको प्रशंसा वा आलोचनाभन्दा पनि नेपालको राजनीतिक स्थायित्व र विकासको प्रश्न हो। किनभने सरकार परिवर्तन, सत्ता संघर्ष र राजनीतिक विवादमा खर्च भएको ऊर्जा विकासमा खर्च हुन सकेन भने ठूलो जनादेश पनि अर्थहीन बन्न सक्छ। पाँच वर्षको स्थिर सरकार पाएर पनि परिणाम दिन नसक्ने नेतृत्व र पाँच वर्ष पूरा गर्नै नपाएको नेतृत्वको मूल्यांकन एउटै तराजुमा गर्नु न्यायोचित हुँदैन।

तर यसको अर्को पाटो पनि उत्तिकै महत्वपूर्ण छ। नेतृत्वले आफ्नो असफलताको सम्पूर्ण दोष अरूमाथि थोपरेर उम्कन मिल्दैन। राजनीतिक नेतृत्व भनेको केवल समर्थकहरूको साथमा हिँड्नु होइन, असहमत पक्षलाई समेत साथमा लिएर अघि बढ्नु हो। लोकतन्त्रमा ‘म नै सही’ भन्ने मानसिकताभन्दा ‘सही कुरा जहाँबाट आए पनि स्वीकार गर्छु’ भन्ने संस्कार शक्तिशाली हुन्छ।

एमाले आज जुन अवस्थामा पुगेको छ, त्यसलाई केवल बाहिरी षड्यन्त्र, विरोधीको प्रचार वा समयको प्रतिकूलताले मात्र व्याख्या गर्न सकिँदैन। नेतृत्वको कार्यशैली, संगठनभित्रको लोकतान्त्रिक अभ्यास, पुस्तान्तरण, आलोचना ग्रहण गर्ने क्षमता र जनतासँगको सम्बन्ध पनि यसको मूल्यांकनका आधार हुन्।

ओलीले नेपाली राजनीतिमा एउटा महत्वपूर्ण अध्याय लेखिसकेका छन्। संघर्षबाट स्थापित नेता हुँदै विकास र समृद्धिको सपना बेच्ने प्रधानमन्त्रीसम्मको उनको यात्रा सामान्य राजनीतिक यात्रा होइन। तर इतिहासमा ठूलो नेता बन्ने र इतिहासमै ठूलो नेता भएर टिकिरहने कुरा फरक हुन्।

अब प्रश्न ओलीको लोकप्रियता फर्किन्छ कि फर्किँदैन भन्ने मात्र होइन। प्रश्न यो हो- एमालेले आफ्नो नेतृत्वलाई समयअनुसार पुनः परिभाषित गर्न सक्छ कि सक्दैन ?

किनकि लोकतन्त्रमा कुनै नेता अनकन्टक हुँदैन। जनताको मत, पार्टीको संगठन, आलोचना, प्रतिस्पर्धा र समय- यी सबैले नेतृत्वलाई निरन्तर परीक्षण गरिरहेका हुन्छन्।

हिजो आन्दोलनले नेताहरूलाई तिखार्थ्यो। आज शासनले तिखार्नुपर्छ। हिजो जेल र सडक नेतृत्वको परीक्षा थियो। आज परिणाम, सुशासन र समृद्धि नेतृत्वको परीक्षा हो।

त्यसैले ओलीका लागि पनि अब सबैभन्दा ठूलो चुनौती विरोधीलाई जित्नु होइन, आफ्नै राजनीतिक उचाइलाई पुनः प्रमाणित गर्नु हो। र एमालेका लागि चुनौती ओलीलाई जोगाउनु वा हटाउनु मात्र होइन- व्यक्तिभन्दा संस्था ठूलो हुने राजनीतिक संस्कार निर्माण गर्नु हो।

सायद यहीँबाट एमालेको पुनरुत्थानको बाटो पनि सुरु हुन सक्छ।

– राजु राम राउत

बनस्खण्डी

हेटाैंडा-२

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.