हेटौंडामा ‘नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला’ सञ्चालन: वैज्ञानिक अपराध अनुसन्धान र बागमती प्रदेशको सुरक्षा अवस्थाबारे डीआईजी दीपक रेग्मीको विशेष जोड

हेटौंडा, असोज १९ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा, मकवानपुरमा कार्यक्षेत्र भित्रको समसामयिक सुरक्षा अवस्था तथा अपराध अनुसन्धानलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउने विषयमा केन्द्रित भई विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (DIGP) दीपक रेग्मीको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा विशेषगरी हेटौंडामा नवनिर्मित ‘नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला’ को स्थापना र परीक्षण सेवा सुरु भएको विषयलाई प्रमुखताका साथ प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (SSP) राजेन्द्र प्रसाद धमलाले समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा प्रयोगशालाको प्रभावकारिताबारे तथ्याङ्कीय विवरण पेस गर्नुभएको थियो।

​अपराध अनुसन्धानलाई सर्वसुलभ, द्रुत र वैज्ञानिक बनाउन हेटौंडामा सञ्चालनमा ल्याइएको यो विधि विज्ञान प्रयोगशाला (Forensic Lab) बागमती र मधेश प्रदेशका लागि कोशेढुङ्गा सावित भएको छ। प्रयोगशालाले हाल रसायन तथा लागू औषध, Biology/Serology र DNA Profiling को परीक्षण कार्य सुरु गरिसकेको छ। बागमती प्रदेश (चितवन, मकवानपुर, सिन्धुली) र मधेश प्रदेश (पर्सा, बारा, रौतहट, सर्लाही) बाट बरामद हुने लागू औषधका नमुनाहरूको करिब ४०% परीक्षण यहीँ हुनेछ। यसअघि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य भई अब ३ देखि १० दिनभित्रै परीक्षण प्रतिवेदन उपलब्ध हुने भएकाले अनुसन्धान अधिकृतहरूलाई ठूलो राहत पुग्नेछ।

​कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार बागमती प्रदेशमा अपराध अनुसन्धान तथा फैसला कार्यान्वयनको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको छ। चालु आर्थिक वर्षमा कुल दर्ता कसुर ५,८५२ पुगेकोमा ८६% अभियुक्तहरूलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको छ। अदालतको फैसला कार्यान्वयनतर्फ ३९.३०% सफलता हासिल गर्दै २,२४२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी रु. २४ करोड १४ लाखभन्दा बढी जरिवाना असुल गरिएको छ। यस्तै, लागू औषध नियन्त्रणतर्फ ५,७४८ केजी गाँजा, १३६ केजी चरेस, १०१ केजी अफिमसहित १,१९२ जनालाई पक्राउ गरिएको छ भने अवैध हतियार नियन्त्रण अन्तर्गत ५० नाल हातहतियारसहित ४० जना पक्राउ परेका छन्।

​सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनतर्फ प्रहरीले अपनाएको कडाइका कारण कुल सवारी दुर्घटनामा २०.२३% र घाइते संख्यामा २०.७३% ले कमी आएको छ। यद्यपि, भीमफेदी, रामेछाप, धादिङ र काभ्रेमा भएका ४ वटा ठूला सवारी दुर्घटनाका कारण कुल मृत्युदरमा ११.८४% ले वृद्धि भई ३४० पुगेको विश्लेषण गरिएको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने ९०,९८३ वटा सवारी साधनलाई कारवाही गरी रु. ९ करोड ३ लाखभन्दा बढी राजस्व असुल गरिएको छ भने मापसे तथा लागूपदार्थ सेवन गरी सवारी चलाउने ११४ जनाको सवारी चालक अनुमतिपत्र (निलम्बन प्रक्रिया) मा राखिएको छ।

​आगामी विजयादशमी तथा दिपावलीलाई लक्षित गरी प्रदेशका १० जिल्लामा ४,४९९ जना जनशक्ति परिचालन गरी विशेष चाडपर्व सुरक्षा योजना लागू गरिएको छ। यस अन्तर्गत ४६ स्थानमा यात्रु सहायता कक्ष, ५८ स्थानमा राजमार्ग ट्राफिक चेकिङ र आवश्यकता अनुसार ड्रोन तथा तालिमप्राप्त कुकुर (K-9) समेत प्रयोग गरिनेछ। साथै, भोटेकोशी र रसुवामा आएको बाढी-विपद्का क्रममा क्षति पुगेका प्रहरी संरचनाहरूको पुनःस्थापना, खोज तथा उद्धार कार्य र होल्डिङ सेन्टर व्यवस्थापनलाई समेत प्रहरीले प्राथमिकताका साथ अगाडि बढाएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.