भीमफेदी- कुलेखानी सडकको इतिहास जलविद्युत् आयोजनासँग जोडिएको छ। कुलेखानी जलविद्युत् आयोजनाको पहुँच, निरीक्षण र सञ्चालनलाई सहज बनाउन करिब १६ किलोमिटर लामो सडक निर्माण गरिएको थियो। वि.सं. २०३९ (सन् १९८२) मा कुलेखानी जलविद्युत् आयोजना सम्पन्न भई सञ्चालनमा आएको थियो।
पछि यही मार्गलाई हेटौंडा- भीमफेदी- कुलेखानी-सिस्नेरी- दक्षिणकाली हुँदै काठमाडौं जोड्ने छोटो वैकल्पिक मार्गका रूपमा विकास गरियो। दक्षिणकालीदेखि कुलेखानीसम्मको सडक निर्माण वि.सं. २०४९ मा सुरु भई २०६३ मा सम्पन्न भएको विवरण छ।
तर विडम्बना जुन सडकले दूरी घटाउने, समय बचाउने र यात्रालाई सहज बनाउने सपना बोकेको थियो आज त्यही सडक धेरै परिवारको आँसु र पीडाको कारण बन्दै गएको छ। साँघुरो बाटो, घुम्ती नै घुम्ती, बढ्दो सवारी चाप, विद्युतीय सवारी चालकलाई पर्याप्त प्रशिक्षणको अभाव र सम्बन्धित निकायको कमजोर निगरानीले यात्रालाई जोखिमपूर्ण बनाएको छ। सुरक्षित गन्तव्यमा पुर्याउनुपर्ने सडक आज कतिपयका लागि मृत्युको जोखिम बोकेको यात्रा बनेको छ।
सडक विकासको प्रतीक हुनुपर्ने हो अकालमै जीवन गुमाउने नियति होइन। बाटो छोटिनु विकास हो तर त्यही बाटोमा जीवन छोटिनु दुखत हो ।
यही जोखिमको दीर्घकालीन समाधानका रूपमा अघि सारिएको भीमफेदी- काठमाडौं सुरुङमार्गले नेपाली जनताको मनमा नयाँ सपना जगाएको थियो। छोटो दूरी, सहज यात्रा र सुरक्षित भविष्यको कल्पनाले नागरिकका अनुहारमा खुसी ल्याएको थियो। तर आज ती सपना कुहिरोमा हराएको काग झै भएका छन्। सुरुङमार्ग निर्माणका लागि संकलित रकम कहाँ र कसरी उपयोग भयो ? आयोजना किन अधुरै रह्यो ? पारदर्शिता र जवाफदेहिताको प्रश्न किन अनुत्तरित छ ? जनताका मनमा उठेका यी प्रश्नको जवाफ अब आश्वासनले होइन सत्यतथ्य र परिणामले दिनुपर्छ।
३५ वर्षमा केही भएन भन्ने भाष्यले अन्योलता पाइरहेको यस घडीमा नयाँ नेतृत्वका सरकार सामु इतिहास बदल्ने अवसर आएको छ। विगतका कमजोरीलाई दोषारोपणको विषय मात्र बनाएर भविष्यको जिम्मेवारीबाट उम्किने सुविधा अब छैन।
हिजो तपाईंहरू प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो आज जनताको मतबाट उत्तर दिने ठाउँमा पुग्नुभएको छ। त्यसैले अरूलाई दोष देखाएर होइन आफ्नै कामबाट जवाफ दिनुहोस्। विगतका कमजोरीको निष्पक्ष छानबिन गरेर सुरुङमार्ग निर्माणसँग जोडिएका आर्थिक तथा प्रशासनिक विषय पारदर्शी बनाउनुहोस् र वर्षौंदेखि अधुरो रहेको आयोजनालाई पुनः गति दिनुहोस्।
जनतालाई अब भाषणको उचाइ होइन कामको गहिराइ चाहिएको छ। राजनीतिक परिवर्तनको सार कुर्सी फेरिनु मात्र होइन नागरिकको जीवनमा परिवर्तन आउनु हो।
विकासको मापन सडकको लम्बाइले होइन त्यसले बचाएका जीवन र नागरिकको अनुहारमा ल्याएको मुस्कानले हुन्छ।
अब दुर्घटनापछि श्रद्धाञ्जली लेख्ने बाध्यता होइन दुर्घटना हुनै नदिने व्यवस्था निर्माण गरी अधुरा सपना र जनताको जीवन रक्षाको लागि भीमफेदी- काठमाडौं सुरुङमार्गलाई फेरि आशाको उज्यालो बनाऔँ।
किनकि जनतालाई मृत्युको जोखिम बोकेको यात्रा होइन सुरक्षित भविष्यतर्फ पुग्ने विकासको बाटो चाहिएको छ ।
लेखक
सुनिल मोक्तान
वडा अध्यक्ष, हेटौडा उपमहानगरपालिका १५














