हेटौँडा । गत भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका हेटौँडा–१५ निवासी स्वर्गीय सुमनलाल गोले र रमेश मगरको स्मृतिमा ‘१५ नं. वडास्तरीय स्नुकर च्याम्पियनसिप–२०८३’ सुरु भएको छ। हेटौँडा–१५ खेलकुद विकास समितिको आयोजनामा आज प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो। समितिका अध्यक्ष गोविन्द नेगीको सभाध्यक्षता तथा पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले विगतमा सहर र राजधानी केन्द्रित हुने खेलकुद प्रतियोगिताहरू पछिल्लो समय गाउँ र वडा तहसम्म विस्तार हुनु सकारात्मक पक्ष रहेको बताउनुभयो । वडाध्यक्ष सुनिल मोक्तानको सक्रियतामा हेटौँडा–१५ मा विभिन्न खेलकुद गतिविधि भइरहेको प्रशंसा गर्दै उहाँले यस्ता प्रतियोगिताले युवाहरूमा लुकेर रहेको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । खेलाडीहरूले धेरै विधामा हात हाल्नुभन्दा कुनै एक विधामा निपूर्णता हासिल गरेमा व्यक्तिगत विकाससँगै गाउँ, टोल र देशकै नाम उच्च राख्न सकिने उहाँको भनाइ थियो । श्रेष्ठले युवाहरूलाई खेलकुदलाई केवल समय बिताउने माध्यम मात्र नबनाई यसको समग्र विकास र व्यावसायिकतामा ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि एवं हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष सुनिल मोक्तानले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्थानीय युवाहरूको तीव्र माग र सक्रियताका कारण वडास्तरीय स्नुकर प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । स्नुकर खेलको ऐतिहासिक पृष्ठभूमि र विश्वव्यापी लोकप्रियताबारे चर्चा गर्दै उहाँले वडा तहबाट सुरु भएको यात्रालाई लगनशीलता र मेहनतका साथ निरन्तरता दिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी बन्न सहभागीहरूलाई शुभकामना दिनुभयो ।
उद्घाटन समारोहमा पूर्व चुरियामाई गाविस अध्यक्ष इन्द्रमान स्याङतान, हेटौँडा–१५ का वडा सदस्य सिंहबहादुर लो, चुरियामाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हर्कमान पाख्रिन लगायतको आतिथ्यता रहेको थियो ।
वडा नम्बर १५ का कुल १८ जना खेलाडीको सहभागिता रहेको यस प्रतियोगिताको फाइनल खेल आगामी मङ्सिर ४ गते हुनेछ । प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद ३० हजार रुपैयाँ र द्वितीय हुनेले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनलमा पुग्ने दुई जना खेलाडीलाई जनही ५/५ हजार रुपैयाँ तथा प्रतियोगिताको ‘हाइएस्ट ब्रेकर’ बन्ने खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।



















