नवलपरासी — नवलपरासीस्थित विनई सामुदायिक वनले सञ्चालन गरेको जैविक मल उत्पादनको सफल व्यावसायिक मोडलबाट बागमती प्रदेशका १० वटा सामुदायिक वनका प्रतिनिधिहरू प्रेरित भएका छन्। प्राकृतिक श्रोत महिला अधिकार संजाल (WRRN) को आयोजना तथा राइट्स एन्ड रिसोर्सेज इनिसिएटिभ (RRI) को सहयोगमा सम्पन्न एकदिने अध्ययन भ्रमणका क्रममा टोलीले वनजन्य फोहोरलाई कसरी नाफामूलक र उपयोगी व्यवसायमा बदल्न सकिन्छ भन्ने विषयमा प्रत्यक्ष ज्ञान हासिल गरेको हो। भ्रमणका क्रममा सहभागीहरूले प्राङ्गारिक मलको गुणस्तर परीक्षण, आधुनिक प्याकेजिङ तथा बजारीकरणका सम्पूर्ण व्यावहारिक चरणहरूको गहिरो अवलोकन गरेका थिए।
भ्रमणका क्रममा विनई सामुदायिक वनकी अध्यक्ष बालु पुरीले टोलीलाई उत्पादन मापदण्ड, बजार मूल्य निर्धारण र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दा भोगिएका व्यावहारिक अनुभवहरू साटेकी थिइन्। वन संरक्षणका साथसाथै आर्थिक समृद्धिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने उदाहरणीय सन्देश यस अध्ययन भ्रमणले दिएको छ। जैविक फोहोरको रचनात्मक व्यवस्थापनले वातावरण जोगाउनुका साथै समुदायको आयआर्जनमा समेत टेवा पुर्याउने कुरा अवलोकनका क्रममा प्रस्ट पारिएको थियो।
यस अध्ययन भ्रमणले प्राकृतिक स्रोत साधनको दिगो व्यवस्थापनमा महिला नेतृत्वको भूमिका कति प्रभावकारी हुन्छ भन्ने तथ्यलाई पुनः पुष्टि गरेको छ। महिलाहरूको सक्रिय नेतृत्वमा स्रोत-साधनको परिचालन गर्दा स्थानीय रोजगारी सिर्जना हुनुका साथै समग्र समुदायको आर्थिक तथा सामाजिक उत्थान हुने सहभागीहरूको निष्कर्ष छ। प्राकृतिक स्रोतको सही सदुपयोग र महिला सशक्तिकरणको यो सहकार्यले नै दिगो र समृद्ध भविष्यको निर्माण गर्न सकिने विश्वास अवलोकनकर्ताहरूले व्यक्त गरेका छन्।










