हेटौँडा। हेटौँडामा महिला हिंसा र साइबर अपराध न्यूनीकरणका साथै शारीरिक तथा मानसिक सुरक्षा र सशक्तिकरण विषयक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। हेटौँडा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय भारती पाठकको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडाका टोल विकास संस्थाका पदाधिकारी, सदस्यहरू, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देल र वडा नम्बर ११ का वडा अध्यक्ष जुना दाहाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी, वडा नम्बर ४ का वडा सदस्यद्वय गीता त्रिपाठी र जगन्नाथ पाण्डे, वडा नम्बर १० का वडा सदस्य गोमा सुनुवार तथा राष्ट्रिय आधुनिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष समिम खानलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुमा वडा नम्बर ४ की वडा सदस्य गीता त्रिपाठीले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो।
उक्त प्रशिक्षण कार्यक्रममा सम्बन्धित विषयका विज्ञहरूले सहभागीहरूलाई व्यावहारिक एवं उपयोगी विषयमा सहजीकरण गर्नुभएको थियो। अन्तर्राष्ट्रिय जीवन कला तथा उत्प्रेरणा प्रशिक्षक सिमोन न्यौपानेले साइबर अपराध, शारीरिक तथा मानसिक सुरक्षा र जीवन उत्प्रेरणाका विविध आयामबारे सहजीकरण गर्नुभएको थियो। त्यसैगरी, अधिवक्ता एवं कानूनी परामर्शदाता शान्ति कुमारी सिंहले महिला हिंसा, महिला अधिकार र कानूनी प्रावधानहरूबारे सहभागीहरूलाई प्रष्ट पार्नुभएको थियो।
सम्बोधनका क्रममा हेटौँडा-११ की वडा अध्यक्ष जुना दाहालले शुभकामना मन्तव्य राख्दै यस्ता जनचेतनामूलक कार्यक्रमले समाजमा व्याप्त विसंगति न्यूनीकरण गर्न ठूलो मद्दत पुर्याउने बताउनुभयो। त्यसैगरी प्रमुख अतिथि माननीय बागमती प्रदेश सभा सदस्य भारती पाठकले शुभकामना मन्तव्य व्यक्त गर्दै समाजमा बढ्दो साइबर अपराध र महिला हिंसाविरुद्ध घर-समाजबाटै सचेतना जगाउनुपर्ने र यसका लागि सबै पक्षको एकीकृत प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।
सभाध्यक्ष ध्रुव अधिकारीले कार्यक्रमको समापन गर्दै समाजलाई हिंसामुक्त र सुरक्षित बनाउन टोल विकास संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। १९ वटै वडाका प्रतिनिधि, शिक्षक र विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको र आगामी दिनमा पनि यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिइने आयोजकले जनाएको छ।










