हेटौँडा। संस्थागत विद्यालय शिक्षक युनियन (ISTU) हेटौँडा उपमहानगरपालिका समितिको आयोजनामा यही असोज ११ गते ‘जिल्ला स्तरीय पुरुष शिक्षक/कर्मचारी फुटसल प्रतियोगिता-२०८३’ आयोजना हुने भएको छ। संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबीच आपसी भाइचारा, एकता, स्वास्थ्य, खेलकुद भावना र पेसागत सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ एकै दिनमा सम्पन्न हुने गरी प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। हेटौँडा-४ स्थित निम्बो ब्याम्बो कटेजमा आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष नवीन कुमार मिश्रले प्रतियोगितासम्बन्धी विवरण सार्वजनिक गर्नुभयो।
असोस ११ गते एकै दिनमा सबै खेलहरू सम्पन्न गरिने यस प्रतियोगितामा मकवानपुर जिल्लाका विभिन्न १६ वटा संस्थागत विद्यालयहरू र आयोजकको १ टोली गरी कुल १७ वटा टिमको सहभागिता रहने भएको छ। सीमित समयभित्रै विजेताको टुंगो लगाउनुपर्ने भएकाले खेलहरू पूर्ण रूपमा नकआउटका आधारमा सञ्चालन गरिनेछ। प्रतियोगिताको समुद्घाटन समारोह भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यतामा असोज ११ गते बिहान हुने कार्यक्रम तय गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। विजेता टिमले नगद १०,००० रुपैयाँ र उपविजेता टिमले नगद ५,००० रुपैयाँ प्राप्त गर्नेछन् भने दुवै टोलीलाई मायाको चिनो प्रदान गरिनेछ। यसका साथै प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि ‘बेस्ट प्लेयर’, ‘बेस्ट किपर’, ‘म्यान अफ द टुर्नामेन्ट’ र ‘हाइएस्ट गोल स्कोरर’ जस्ता विधामा पनि सम्मान र पुरस्कारको व्यवस्था गरिएको छ।
पत्रकार सम्मेलनमा अध्यक्ष मिश्रले खेलकुद केवल जित र हारको विषय मात्र नभई शिक्षक तथा कर्मचारीबीचको अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको माध्यम भएको बताउनुभयो। यस एकदिने प्रतियोगिताले शिक्षक-कर्मचारीहरूलाई व्यस्त समयका बाबजुद एकै ठाउँमा जोड्न र स्वस्थ जीवनशैली अपनाउन ठूलो प्रोत्साहन मिल्ने अपेक्षा आयोजक समितिले लिएको छ।
कार्यक्रमको अवसरमा युनियनले शिक्षक तथा कर्मचारीका पेसागत अधिकार र सुरक्षाका मुद्दाहरू समेत अगाडि सारेको छ। विशेष गरी निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक-कर्मचारीहरूको श्रम र योगदानको कदर गर्दै उनीहरूको वर्तमान सुरक्षित र सम्मानजनक हुनुपर्ने तथा सामाजिक सुरक्षा कोष (SSF) मा प्रभावकारी आबद्धता हुनुपर्नेमा जोड दिइएको छ। यसका लागि सम्बन्धित विद्यालय व्यवस्थापन, स्थानीय सरकार र सरोकारवाला निकायहरूसँग निरन्तर संवाद र सहकार्य गरिने अध्यक्ष मिश्रले बताउनुभयो।










