हेटौंडाबाट पेस्तोल र अटो सहित दुई जना पक्राउ

हेटौंडा, २८ कात्तिक ।

हेटौंडाबाट अवैध हतियार र अटो सहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हेडक्वार्टर मकवानपुरबाट खटिएको संयुक्त टोलीले जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा सुरक्षा निकायले आवश्यक अनुसन्धान अगाडि बढाइरहेको छ।

​घटना विवरण अनुसार, मिति २०८३ साल कात्तिक २८ गते मध्याह्न अन्दाजी १२:१५ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नं. १ चौकीटोल क्षेत्रमा सुरक्षा जाँच भइरहेको थियो। सशस्त्र प्रहरी निरीक्षक ऋषिराम पौडेलको कमाण्डमा खटिएको १० जनाको टोली र सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले बागमती प्रदेश ०३-००१ ह ११८१ नम्बरको अटोलाई रोकी जाँच गर्न खोजेको थियो।

​जाँचका क्रममा उक्त अटो एक्कासि भाग्न खोजेपछि नियन्त्रणमा लिन इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले १ राउण्ड हवाई फायर गरेको थियो। त्यसपश्चात् सुरक्षाकर्मीको टोलीले अटोलाई नियन्त्रणमा लिई खानतलासी गर्दा ७.६५ मिलिमिटर क्यालिवर भएको सेमिअटोमेटिक पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान र पिँदीमा चोट भएको ७.६५ मिलिमिटरको १ राउण्ड गोली फेला पारेको थियो।

​उक्त हतियार, अटो र घटनामा संलग्न २ जनालाई नियन्त्रणमा लिई सशस्त्र प्रहरी गण परिसरमा ल्याइएको छ। पक्राउ पर्नेमा जिल्ला मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ नयाँबस्ती बस्ने अन्दाजी २७ वर्षीय सुनबहादुर तामाङ र सोही ठेगाना भएका २२ वर्षीय विश्वराज तामाङ रहेका छन्। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बद्ध निकायमा बुझाउने तयारी भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.