हेटौंडा, २१ कात्तिक (२०८३) – प्रेस चौतारी नेपाल मकवानपुरको आयोजनामा शनिबार हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा चाडपर्व लक्षित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। प्रेस चौतारी मकवानपुरका अध्यक्ष सरिता दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रममा बागमती प्रदेश प्रमुख माननीय दीपक प्रसाद देवकोटाको प्रमुख आतिथ्य तथा बागमती प्रदेशकी प्रथम महिला रुक्मणी देवकोटाको विशेष आतिथ्य रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य संस्थाका सहसचिव सुमन दाहालले राख्नुभएको थियो भने कार्यक्रममा जनप्रतिनिधि, पत्रकार महासंघ तथा विभिन्न प्रेस संगठनका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा बोल्ने अधिकांश वक्ताहरूले वर्तमान समयमा नेपालमा प्रेस अधिकार कुण्ठित हुने खतरा बढेको र मुलुक निरंकुशतातर्फ उन्मुख हुन खोज्दा लोकतन्त्र नै धरापमा पर्ने सम्भावना औंल्याएका छन्। हालैका दिनमा राज्यका निकायहरूबाट प्रेसका कार्यालयमै पुगेर पत्रकारहरूलाई धरपकट गर्ने तथा समाचारको स्रोत खोज्ने जस्ता गतिविधिहरू हुन थालेको भन्दै वक्ताहरूले यसले स्वतन्त्र प्रेसमाथि ठाडो आक्रमण गरेको गम्भीर गुनासो व्यक्त गरे। सरकारका यस्ता दमनकारी प्रवृत्तिविरुद्ध सबै पत्रकारहरू एक ढिक्का भएर उभिनुपर्नेमा उनीहरूले जोड दिए।
शुभकामना मन्तव्य राख्ने क्रममा वक्ताहरूले आगामी तिहार, छठ लगायतका चाडपर्वहरूले सबैमा हर्षोल्लास र आपसी भाइचारा तथा सद्भाव कायम गर्न प्रेरित गरून् भन्दै शुभकामना व्यक्त गरेका थिए। साथै, विषम परिस्थितिमा पनि निराश नभई पत्रकारहरूले निर्भिक र निडर भएर जनताको पक्षमा आवाज बोल्नुपर्ने र सरकारका गलत क्रियाकलापहरूको घोर प्रतिवाद गर्दै सत्यतथ्य समाचार सम्प्रेषणमा निरन्तर क्रियाशील रहन सम्पूर्ण सञ्चारकर्मीहरूलाई विशेष हौसला र प्रोत्साहन प्रदान गरेका थिए।
कार्यक्रममा पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, नेकपा एमाले मकवानपुर प्रचार विभाग प्रमुख उज्ज्वल चौलागाईं, उपसचिव आरती पाठक, हेटौडा वडा नं १५ का वडाध्यक्ष सुनिल मोक्तान, प्रेस चौतारी बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, निवर्तमान मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेत, प्रेस चौतारी केन्द्रीय सदस्य पुष्पराज अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।



















