भक्तपुर, कात्तिक १५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रत्येक नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्नेमा जोड दिनुभएको छ। मध्यपुर थिमि नगरपालिकास्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आकस्मिक अनुगमनका क्रममा मुख्यमन्त्री थापा मगरले स्वास्थ्य सेवा प्राप्त गर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको बताउनुभएको हो।
अनुगमनका अवसरमा मुख्यमन्त्रीले अस्पतालमा उपचाररत बिरामीहरूसँग भेटघाट गरी उनीहरूले प्राप्त गरिरहेको सेवाप्रवाहको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभएको थियो। साथै, उहाँले अस्पतालको समग्र भौतिक तथा चिकित्सकीय अवस्था, सेवा प्रवाहमा गर्नुपर्ने सुधार र स्वास्थ्य सेवाको आगामी विस्तारबारे गहन चासो व्यक्त गर्नुभएको थियो।
सोही क्रममा मुख्यमन्त्री थापा मगरले नागरिकलाई सरल, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकार तथा स्वास्थ्य संस्थाहरूको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो। नागरिकको स्वास्थ्य अधिकारलाई पूर्ण रूपमा सुनिश्चित गर्न सम्बन्धित सबै पक्ष जिम्मेवार हुनुपर्नेमा उहाँको जोड थियो।
अस्पतालको वस्तुस्थिति बुझेपछि उहाँले अस्पताल प्रशासनलाई सेवा प्रवाह थप प्रभावकारी बनाउन र आवश्यक सुधारका लागि केही महत्त्वपूर्ण निर्देशनसमेत दिनुभएको छ। प्रदेश सरकार नागरिकको स्वास्थ्यप्रतिको उत्तरदायित्व पूरा गर्न सदा तत्पर रहेको उहाँले बताउनुभयो।



















