हेटौँडा, कात्तिक ११ गते।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयको आयोजनामा सञ्चालित ‘वडा अध्यक्ष कप-२०८३ राष्ट्रिय स्नुकर च्याम्पियनसिप (टप-१६)’ को समापन समारोहमा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिर बहादुर तामाङले खेलकुदलाई पर्यटन र देशको आर्थिक विकाससँग जोड्नुपर्नेमा जोड दिनुभएको छ। हेटौँडाको लियम स्नुकर हाउसमा सम्पन्न समापन कार्यक्रम हेटौँडा-१५ खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगिको सभाध्यक्षतामा भएको थियो। कार्यक्रममा मन्त्री तामाङ प्रमुख अतिथिका रूपमा र हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तान विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री तामाङले खेलकुदको बदलिँदो आयामबारे महत्त्वपूर्ण विचार व्यक्त गर्नुभयो। “कुनै समय खेल दाजुभाइबीच भाइचारा र सामाजिक सद्भावका लागि मात्र खेलिन्थ्यो, तर आज खेल व्यवसाय र सबैभन्दा महत्त्वपूर्ण रूपमा खेल पर्यटन (Sports Tourism) को माध्यम बनेको छ,” मन्त्री तामाङले भन्नुभयो, “यसले पर्यटन विकासमा टेवा पुर्याउँदै देशको आर्थिक समृद्धिमा समेत ठूलो योगदान पुर्याउँछ।” साथै, आगामी दिनमा स्नुकर लगायतका खेलहरूको प्रवर्धन र क्षमता विकासका लागि मन्त्रालय तथा व्यक्तिगत तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
फाइनल खेलको अवलोकनका क्रममा दर्शकहरू समेत अत्यन्त अनुशासित र शान्त भएर बस्नुपरेको प्रसङ्ग जोड्दै मन्त्री तामाङले स्नुकर खेलमा उच्च स्तरको ‘प्यासन’, अनुशासन र धैर्यता चाहिने बताउनुभयो। यति धेरै अनुशासन र गम्भीरता बोकेको खेललाई अझै पनि समाज र अभिभावकहरूले पूर्ण सकारात्मक दृष्टिकोणले हेर्न नसक्नु गलत भएको भन्दै उहाँले यस्ता भ्रमहरू चिर्दै लैजानुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै विशेष अतिथि एवम् हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तानले पहिलोपटक आयोजना गरिएको राष्ट्रिय स्तरको प्रतियोगितामा देखिएका केही कमी-कमजोरीहरूलाई आगामी दिनमा सुधार्दै लगिने बताउनुभयो। देशैभरिबाट उपस्थित खेलाडीहरूलाई धन्यवाद दिँदै उहाँले स्नुकर खेलले हेटौँडा सहरलाई चिनाउनुका साथै युवाहरूमा अनुशासन, धैर्यता, एकाग्रता र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुर्याएको धारणा राख्नुभयो।
प्रतियोगिताको उपाधि हेटौँडाका सोम लामाले जित्नुभएको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै लामा प्रथम (विजेता) भई नगद रु १,००,०००/- र ट्रफी चुम्न सफल हुनुभयो भने काठमाडौँका वाङ्चुङ तामाङ द्वितीय (उपविजेता) बन्दै रु ५०,०००/- प्राप्त गर्नुभयो। प्रतियोगितामा धनगढीका रोहित क्षेत्री र काठमाडौँका मिलन तामाङ तृतीय हुनुभयो। त्यस्तै, पोखराका सोम विकले १०७ अङ्कको शानदार ‘सेन्चुरी ब्रेक’ हान्दै ‘हाइएस्ट ब्रेकर’ को उपाधि आफ्नो नाममा पार्नुभयो। विजयी खेलाडीहरूलाई मन्त्री तामाङ, वडा अध्यक्ष मोक्तान र राप्रपा मकवानपुर अध्यक्ष ऋषिलाल श्रेष्ठलगायतका अतिथिहरूले पुरस्कार वितरण गर्नुभएको थियो।



















