काठमाडौँमा कुलमान घिसिङसँग भेटवार्ता: पार्टी प्रवेशको हल्ला निराधार भएको मेयर र वडा अध्यक्षको दाबी

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, वडा नम्बर १४ का वडा अध्यक्ष दीपक खड्का र वडा नम्बर १३ का वडा अध्यक्ष पेम्बा लामाले काठमाडौँ पुगेर उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग भेटघाट गर्नुभएको तस्बिर सार्वजनिक भएपछि हेटौँडाको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ। वडा अध्यक्ष दीपक खड्काको फेसबुक पेजमार्फत “इमानदारिता, कर्म र राष्ट्रसेवाको अर्को नाम – कुलमान घिसिङ” भन्ने क्याप्सनसहित सार्वजनिक गरिएको उक्त तस्बिरपछि स्थानीय निर्वाचन नजिकिँदै गर्दा जनप्रतिनिधिहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गर्न लागेको भन्दै बजारमा व्यापक चर्चा र टिकाटिप्पणी सुरु भएको छ।

​बजारमा फैलिएको पार्टी प्रवेशको हल्लाबारे ‘नवदृष्टि’ का संवाददाताले जिज्ञासा राख्दा हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले सो हल्ला पूर्ण रूपमा निराधार रहेको दाबी गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित नगरप्रमुख लामाका अनुसार कुलमान घिसिङ ऊर्जामन्त्री हुँदा हेटौँडाको सडक विस्तारको काम अगाडि बढेको र हाल उक्त मुद्दा अदालतमा विचाराधीन रहेकाले सोही विषयमा छलफल गर्न काठमाडौँ गएको बेला भेटघाट र गफगाफ भएको बताउनुभयो। उहाँले बजारमा आएको हल्लामा कुनै सत्यता नरहेको प्रस्ट पार्नुभएको छ।

​त्यसैगरी तस्बिर सार्वजनिक गर्नुहुने वडा नम्बर १४ का वडा अध्यक्ष दीपक खड्काले पनि पार्टी प्रवेशको विषयलाई हाँसेर पन्छाउनुभएको छ। नेकपा एमालेबाट निर्वाचित खड्काले नगरको विकास निर्माण र सडक विस्तारका विषयमा छलफल गर्नका लागि नै मेयर र वडा अध्यक्षसहितको टोली काठमाडौँस्थित घिसिङको निवास/कार्यालय पुगेर छलफल गरेको प्रतिक्रिया दिनुभयो। उहाँले आफूहरू विशुद्ध नगरको विकासका मुद्दा बोकेर काठमाडौँ गएको र उज्यालो नेपाल पार्टीमा समावेश हुने कुरा निराधार रहेको दाबी गर्नुभयो।

​जनप्रतिनिधिहरूले काठमाडौँ पुगेर गरिएको सो भेटलाई विकास निर्माणको नियमित छलफल भनेर दाबी गरे तापनि हेटौँडाका स्थानीय पत्रकार, बुद्धिजीवी र राजनीतिक विश्लेषकहरूले भने यसलाई फरक नजरले हेरेका छन्। नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित नगरप्रमुख लामा र नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षहरू दीपक खड्का तथा पेम्बा लामा एकसाथ काठमाडौँ गएर घिसिङलाई भेट्नुलाई आगामी निर्वाचनकेन्द्रित रणनीतिक चालको रूपमा समेत अड्कलबाजी गर्न थालिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.