काठमाडौ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार आफैं प्रश्नकर्ताहरूको आवाज दबाउन र भयको वातावरण सिर्जना गर्न प्रत्यक्ष रूपमा मैदानमा ओर्लिएको आरोप लगाएका छन्। सोमबार पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफ्नो घरको मुख्य प्रवेशद्वार अगाडि गरिएको शंकास्पद पार्किङको घटना सामान्य नभई सरकारले आफूलाई तर्साउन र मुख थुन्न गरेको सुनियोजित प्रयास भएको दाबी गरे। सोमबार बिहान दुई जना व्यक्तिले आफ्नो घरअगाडि गाडी पार्क गरेर लगत्तै प्रशासनको गाडी चढेर गएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उनले यो घटनामा राज्य शक्तिको प्रत्यक्ष मिलेमतो रहेको औंल्याए।
सभापति थापाले यस घटनालाई आफ्नो व्यक्तिगत विषय मात्र नभई सरकारले नागरिक र प्रतिपक्षलाई ‘प्रश्न गरे खबरदार!’ भनी दिएको चेतावनीका रूपमा व्याख्या गरेका छन्। “आज मेरो घरअगाडि गाडी राखेको होइन, त्यो मेरो मुख थुन्न खोजेको हो, तर्साएको हो,” आक्रामक रूपमा प्रस्तुत भएका थापाले भने। यसअघि कान्तिपुर पब्लिकेशन र अनलाइनखबर जस्ता सञ्चारमाध्यमका कार्यालय अगाडि पनि यसै गरी शंकास्पद गाडी पार्किङ गरिएको स्मरण गराउँदै उनले सरकार पछिल्लो समय प्रश्न सोध्ने हरेक निकाय र व्यक्ति विरुद्ध आक्रामक रूपमा प्रस्तुत भइरहेको आरोप लगाए।
पछिल्ला घटनाक्रमहरूले गम्भीर चिन्ता जन्माएको उल्लेख गर्दै नेता थापाले यस्ता गतिविधि खेदजनक भएको र यसले नेपाली कांग्रेस वा आम नागरिकको प्रश्न गर्ने हिम्मतलाई कदापि खोस्न नसक्ने चेतावनी दिए। कांग्रेसको स्थापना नै निरंकुश शासन विरुद्ध र प्रश्न गर्ने अधिकारको रक्षाका लागि भएको भन्दै उनले जननायक बीपी कोइरालाको संघर्षको इतिहास कसैले भुल्न नहुने बताए। प्रश्न गर्ने समाज निर्माणकै लागि लामो लडाइँ लडेर आएकाले यस्ता नयाँ खाले प्रशासनिक हत्कन्डा र धम्कीका अगाडि कत्ति पनि विचलित नहुने उनले स्पष्ट पारेका छन्।







