रजैया–मनहरी–लोथर सडक मर्मत गर्न नेकपा (एमाले) को सात दिने अल्टीमेटम, आन्दोलनको चेतावनी

पूर्व–पश्चिम राजमार्गअन्तर्गत परेको रजैया–मनहरी–लोथर सडकखण्डमा दिनप्रतिदिन खाल्डाखुल्डी बढ्दै जाँदा दुर्घटनाको जोखिम उच्च बनेको भन्दै नेकपा (एमाले) मनहरी गाउँपालिका कमिटीले डिभिजन सडक कार्यालय, हेटौंडाको ध्यानाकर्षण गराएको छ। लामो समयदेखि सडकको स्तरोन्नति र मर्मत-सम्भार नहुँदा सर्वसाधारण तथा सवारी चालकहरूले सास्ती व्यहोर्नुपरेको र दैनिकजसो साना-ठूला दुर्घटनाहरू भइरहेको विषयलाई गम्भीरताका साथ उठाउँदै एमालेले तत्काल मर्मत कार्य अघि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो।

​ज्ञापनपत्रमार्फत नेकपा (एमाले) मनहरी पालिका कमिटीले डिभिजन सडक कार्यालयलाई ७ दिनभित्र उक्त सडकखण्डका खाल्डाखुल्डी पुर्ने र मर्मतको काम सुरु गर्न स्पष्ट समयसीमा (अल्टीमेटम) दिएको छ। तोकिएको अवधिभित्र मर्मतको काम सुरु नभएमा जनताको जीउधनको रक्षाका लागि कडा आन्दोलनका कार्यक्रमहरू अघि बढाउन बाध्य हुने चेतावनीसमेत ज्ञापनपत्रमा दिइएको छ।

​नेकपा एमाले मनहरी पालिका कमिटीका अध्यक्ष नवीन सुवेदीका अनुसार मुख्य राजमार्गको संवेदनशील हिस्सा मानिने यो सडकखण्डको दुरावस्थाका कारण सर्वसाधारणले अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न यो कदम चालिएको हो। सडक कार्यालयले अविलम्ब निर्माण तथा मर्मत प्रक्रिया अघि नबढाएमा थप कडा विरोधका कार्यक्रम घोषणा गरिने जानकारी पनि अध्यक्ष सुवेदीले गराउनुभएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.