नेकपा एमाले कैलाश गाउँ कमिटीको विशेष बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न: “दशैँ-तिहारको बीचमा वडा बैठक सकौँ, जागरण अभियान लिएर गाउँ जाऔँ” – भारती पाठक

कैलाश, मकवानपुर।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कैलाश गाउँ कमिटीको विशेष बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम कैलाशमा  सम्पन्न भएको छ। नेकपा एमाले कैलाश गाउँ कमिटीका अध्यक्ष सानुभाई विष्टको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। बडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं बागमती प्रदेश सभा सदस्य भारतीय पाठकको प्रमुख आतिथ्यता एवं नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य राजाराम स्याङ्तान विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

​कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेश सभा सदस्य भारती पाठकले सम्बोधन गर्दै विजया दशमी तथा दीपावलीको पावन अवसरमा शुभकामना व्यक्त गर्नुभयो। आफ्नो मन्तव्यका क्रममा उहाँले पार्टी संगठनलाई गतिशील बनाउन दशैँ र तिहारको बीचको समयलाई सदुपयोग गर्दै कैलाशका सबै वडाहरूमा वडा स्तरीय बैठकहरू तुरुन्त सम्पन्न गर्न निर्देशन दिनुभयो। उहाँले पार्टीको नीति, विचार र योजना लिएर नेता तथा कार्यकर्ताहरू टोल-टोल र गाउँ-गाउँसम्म पुग्नुपर्नेमा जोड दिनुभयो।

​प्रमुख अतिथि पाठकले एमालेले सञ्चालन गरिरहेको राष्ट्रिय जागरण अभियानमा कैलाश एमालेले सक्रिय र अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। “पार्टीको जागरण अभियान लिएर हरेक नेता-कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ,” उहाँले भन्नुभयो। साथै, जुनसुकै प्राकृतिक विपद् र असजिलो परिस्थितिमा नेकपा एमाले सधैँ जनताको साथमा उभिने उल्लेख गर्दै उहाँले विपद् व्यवस्थापन, राहत र सहयोगका कार्यहरूमा एमाले कार्यकर्ताहरूलाई अग्रपङ्क्तिमा खटिन आह्वान गर्नुभयो। बैठकले कैलाश गाउँपालिकामा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनसेवामा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.