हेटौँडा, २ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम मंगलबार हेटौँडामा सम्पन्न भएको छ। राप्रपा जिल्ला कार्यसमिति मकवानपुरका अध्यक्ष ऋषिलाल श्रेष्ठको सभाध्यक्षता तथा पार्टीका वरिष्ठ उपाध्यक्ष सागर थापाको स्वागत मन्तव्यमा हेटौँडास्थित पल्पसा सभा हलमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
बिहान १०ः३० बजेदेखि सुरु भएको कार्यक्रममा प्रमुख वक्ताका रूपमा राप्रपा नेपालका पूर्व केन्द्रीय अध्यक्ष कमल थापाले सम्बोधन गर्नुभएको थियो। विशेष कारणवश पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी भने कार्यक्रममा उपस्थित हुन सक्नुभएन। कार्यक्रममा अतिथि तथा वक्ताहरूका रूपमा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, पार्टी प्रवक्ता एवं संसदीय दलका नेता माननीय ज्ञानबहादुर शाही, केन्द्रीय सदस्यहरू नवराज बिष्ट र रामहरी न्यौपाने, पूर्व संघीय अध्यक्ष सीताराम बर्तौला, मकवानपुर संघीय निर्वाचन क्षेत्र नम्बर १ का अध्यक्ष उमेश थापा तथा मकवानपुर प्रदेश निर्वाचन क्षेत्र १ ‘ख’ का देवनारायण सापकोटा लगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा वक्ताहरूले मुलुकको समसामयिक राजनीतिक अवस्था, पार्टीको नीति तथा विचार र भावी राजनीतिक कार्यदिशाका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रमकै क्रममा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन व्यक्तिहरू राप्रपामा प्रवेश गरेका छन् भने मकवानपुर जिल्लामा सबैभन्दा धेरै सक्रिय सदस्य बनाउने खुशी कार्की लाई विशेष सम्मान समेत गरिएको छ।
राष्ट्रियता, प्रजातन्त्र र उदारवादलाई मूल मान्यताका रूपमा अघि सारेको राप्रपाले जिल्ला तहमा संगठन सुदृढीकरण र कार्यकर्ताबीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा जिल्लाभरका पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।



















