एमाले स्थायी कमिटी बैठक: स्थानीय तहको अधिवेशन मिति तय, वरिष्ठ नेता भण्डारीद्वारा शपथ ग्रहण

काठमाडौं, २२ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका स्थानीय तहका कमिटीहरूको अधिवेशनको मिति तय गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटीको प्रथम बैठकले वडा र पालिका तहको अधिवेशन मिति निर्धारण गरेको हो। बैठकको सुरुआतमै केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत हुनुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो।

​बैठकले गरेको निर्णय अनुसार आगामी मङ्सिर २६ गते देशभरका वडा कमिटीहरूको अधिवेशन र पुस ४ गते पालिका तहको अधिवेशन सम्पन्न गरिनेछ। अधिवेशनअघि मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गरिने भएको छ, जसमा प्रदेश तथा जिल्लाका पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिहरूको सहभागिता रहनेछ। साथै, वडा र पालिका तहका अधिवेशनहरू सम्पन्न भएपछि मात्र प्रदेशस्तरीय भेला आयोजना गर्ने कार्यतालिका एमालेले तय गरेको छ।

​यसैगरी, बैठकले मधेश प्रदेश सभामा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गर्ने सांसद् जैनब खातुनको निधन भई रिक्त रहेको स्थानमा बन्दसूचीको क्रम अनुसार नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। त्यस्तै, अध्यक्ष पद रिक्त रहेका १३ जिल्लाको हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी सङ्गठन कमिटीमा रूपान्तरण गर्ने र माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउने निर्णय समेत गरिएको छ। स्थायी कमिटीको यो बैठक भोलि पनि पुनः बस्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.