हेटौँडा। बागमती प्रदेशका माननीय मुख्यमन्त्री ज्यूले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै भौतिक पूर्वाधार (बाटो, पुल) भन्दा नागरिकको स्वास्थ्य आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ। हाल कुल प्रदेश बजेटको ४.५ प्रतिशत मात्र स्वास्थ्य क्षेत्रमा विनियोजन भएकोमा असन्तुष्टि जनाउँदै उहाँले आगामी वर्षको बजेटमा स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतिष्ठानले अनेकौँ आरोह-अवरोह पार गर्दै हाल एमबिबिएस (MBBS), एमडी (MD) र स्नातक तहका ४ वटा विभिन्न संकायमा शैक्षिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिरहेको मुख्यमन्त्री ज्यूले बताउनुभयो। विगतमा प्रतिष्ठान र हेटौँडा अस्पतालबीच कार्यक्षेत्रलाई लिएर देखिएको अन्योल र समस्याहरूलाई नीतिगत रूपमै निरुपण गर्न ऐन संशोधन गरिएको जानकारी दिँदै उहाँले यस कदमले दुवै निकायबीचको समन्वय र सहकार्यलाई अझ मजबुत बनाएको उल्लेख गर्नुभयो।
सङ्घीयता लागू हुनुअघि जिल्ला अस्पतालहरूको अवस्था दयनीय रहेको स्मरण गराउँदै मुख्यमन्त्री ज्यूले बागमती प्रदेशका १३ वटै जिल्लाका प्रादेशिक अस्पतालहरूमा निरन्तर विशेषज्ञ सेवा, आवश्यक जनशक्ति र अत्याधुनिक स्वास्थ्य उपकरणहरू थप गरी गुणस्तरीय बनाइएको बताउनुभयो। विशेष गरी हेटौँडा अस्पतालमा विगतमा डायलिसिस मेसिनको कमीले बिरामीहरूले सास्ती भोग्नुपरेकोमा नयाँ मेसिनहरू खरिद गरी सेवा विस्तार गरिएपछि अहिले कोही पनि बिरामी लाइन वा पर्खाइमा बस्नु नपर्ने अवस्था बनेको उहाँको भनाइ थियो।
हेटौँडा अस्पताललाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउन चालु वर्षदेखि नै मुटुरोगको उपचारका लागि क्याथल्याब सेवा सञ्चालन गर्न बजेट र योजना तय गरिएको उहाँले जानकारी दिनुभयो। यस सेवाबाट मकवानपुर, मधेश प्रदेश र चितवनका बिरामीहरू सामान्य उपचारका लागि पनि काठमाडौँ धाउनुपर्ने बाध्यता हट्नेछ। साथै, एमआरआई (MRI) सेवा थप्न तथा आमा र शिशुको विशिष्टकृत उपचारका लागि आवश्यक भौतिक पूर्वाधारको तयारी तीव्र पारिएको उहाँले बताउनुभयो।
हस्पिटलमा बिरामीको चाप अनुसार बेडको अभाव देखिएकाले प्रतिष्ठानको प्रशासनिक कार्यालयलाई अन्य सरकारी भवनमा सारेर सो स्थानलाई बिरामीको उपचारका लागि प्रयोग गर्ने योजना बनाइएको मुख्यमन्त्री ज्यूले स्पष्ट पार्नुभयो। डीपीआर (DPR) अनुसार निर्मित भवनका भित्री संरचना साँगुरो भएकाले प्राविधिक टोलीको सल्लाहमा सुधार गरिने उहाँको भनाइ छ। बागमती प्रदेशका अस्पतालहरूमा टेलिमेडिसिन, कागजरहित सेवाका लागि इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR) र मोबाइल डिजिटल एपमार्फत हस्पिटलका बेड, ओपीडी तथा बिरामीको चाप प्रत्यक्ष अनुगमन गर्ने आधुनिक व्यवस्था लागू भइसकेको समेत उहाँले जानकारी दिनुभयो।










