विपद्का मृतकको सम्झनामा हेटौँडा-१५ मा ‘वडा अध्यक्ष कप’: खेलकुदसँगै सचेतना अभियान

हेटौँडा, असोज २१ गते।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयको आयोजनामा अन्तरनगर वडास्तरीय ‘वडा अध्यक्ष कप-२०८३’ खेलकुद तथा बृहत् सामाजिक सचेतना कार्यक्रम सञ्चालन हुने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत वडा अध्यक्ष सुनिल मोक्तानले वडा सदस्यहरू, स्थानीय युवा बुद्धिजीवी, खेलकुद क्षेत्रका अग्रज तथा प्रशिक्षकहरूको उपस्थितिमा कार्यक्रमको औपचारिक घोषणा गर्नुभएको हो। आउँदै गरेको विजयादशमी, शुभ दीपावली, नेपाल संवत्, छठ तथा ल्होसारको अवसरमा आयोजित यस कार्यक्रमलाई गत भोटेकोशी बाढी तथा विपद्मा परी ज्यान गुमाएका स्थानीय युवा स्व. सुमन गोले र स्व. रमेश मगरको स्मृतिमा समर्पण गरिएको छ।

​प्रतियोगिताअन्तर्गत विभिन्न विधाका खेलहरूमा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। कात्तिक १२ देखि २१ गतेसम्म गौरीटार रङ्गशालामा हुने फुटबल प्रतियोगिता (संयोजक: गोविन्द नेगी) र कात्तिक १० देखि १४ गतेसम्म हुप्रचौरमा हुने स्नुकर प्रतियोगिता (संयोजक: प्रितम राना) का विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, असोज २५ देखि २७ सम्म हटियामा आयोजना हुने ब्याडमिन्टन प्रतियोगिता (संयोजक: बाबुराम वाईबा) तर्फ खुल्ला र भेट्रान्स दुवै विधाका प्रथम हुनेले २५ हजार र दोस्रो हुनेले १५ हजार रुपैयाँ पाउनेछन्। यसैगरी, असोज २२ देखि २४ सम्म होटल सामनामा शारीरिक सुगठन तथा जुम्बा/फिटनेस कार्यक्रम (संयोजक: सुनिल लोप्चन) सञ्चालन गरिनेछ।

​खेलकुदसँगै समाजमा व्याप्त विकृति विरुद्ध युवा लक्षित सचेतनामूलक अभियान पनि सँगसँगै अघि बढाइने भएको छ। जसअन्तर्गत बढ्दो साइबर अपराध (Cyber Crime) र लागूऔषध दुर्व्यसनी विरुद्ध विशेष सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। कुल चार चरणमा सम्पन्न गरिने यो अभियानको पहिलो र दोस्रो चरण दशैँअगाडि नै अर्थात् असोज २६ र २९ गते आयोजना हुनेछ भने बाँकी दुई चरणका कार्यक्रमहरू दशैँपछाडि सञ्चालन गरिने गरी समय तय गरिने आयोजकले जनाएको छ।

​हेटौँडा उपमहानगरपालिका, नगरका सम्पूर्ण वडा कार्यालयहरू, खेलकुद संघ-संस्था, सुरक्षा निकाय र स्थानीय व्यवसायीहरूको सहकार्यमा आयोजना हुन लागेको यो बृहत् महोत्सवले हेटौँडाका विभिन्न वडाबीचको सम्बन्ध थप मजबुत बनाउनेछ। खेल मैदानमा प्रतिस्पर्धा र अनुभव साटासाट गर्दै भाइचारा कायम गर्ने तथा सचेतनामूलक कार्यक्रममार्फत सुरक्षित र अनुशासित समाज निर्माण गर्ने मूल उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष मोक्तानले बताउनुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.