हेटौँडा। ३० औँ विश्व अण्डा दिवसको अवसरमा कुखुरा व्यवसायी सङ्घ मकवानपुरको आयोजनामा अण्डा उत्पादक, वितरक तथा उपभोक्ताबीच अन्तर्क्रिया तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। पल्पसा प्याराडाइज हल हेटौँडामा आयोजित कार्यक्रममा अण्डाको उपभोग, यसको स्वास्थ्यवर्धक गुण तथा बजारको वर्तमान अवस्थाबारे छलफल गरिएको छ।
कार्यक्रम कुखुरा व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष गोविन्द सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कुखुरा व्यवसायी सङ्घका केन्द्रीय सदस्य राजु अधिकारी प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो भने नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि र अध्यक्षले कुखुरा तथा अण्डा व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउँदै उपभोक्तासम्म गुणस्तरीय अण्डा पुर्याउन सङ्घ प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रममा सहजकर्ता डा. अशेष भट्टराईले power point presentation मार्फत अण्डाको उपयोगिता र मानव स्वास्थ्यमा यसको महत्त्वबारे विस्तृत जानकारी गराउनुभयो। उहाँले मानिसलाई दैनिक जीवनमा अण्डा किन आवश्यक छ, यसबाट प्राप्त हुने प्रोटिन तथा अन्य पोषक तत्वहरू, र अण्डामा विषादी हुन्छ या हुँदैन भन्ने जस्ता विविध प्राविधिक विषयमा प्रष्ट पार्नुभयो। साथै, अण्डा खानु फाइदाजनक छ भन्ने सन्देश दिँदै उहाँले समाजमा व्याप्त भ्रमहरूलाई चिर्ने प्रयास गर्नुभयो।
कार्यक्रममा स्थानीय सञ्चारकर्मी, कुखुरा तथा अण्डा व्यवसायी, उत्पादक एवं वितरकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले अण्डाको खपत बढाउन जनचेतना अभिवृद्धि गरिनुपर्ने र बजारमा किसानले उचित मूल्य पाउनुपर्ने कुरामा जोड दिएका थिए।










