नेकपा (एमाले) को ललितपुरमा जारी तेस्रो केन्द्रीय कमिटी बैठकमा पार्टीलाई बलियो बनाउन नेतृत्वको संरक्षण र समसामयिक वातावरणीय मुद्दालाई मुख्य प्राथमिकता दिनुपर्ने आवाज उठेको छ। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस साम्य भई विद्यमान नेतृत्वकै निरन्तरता निश्चित भएको परिप्रेक्ष्यमा बुधबारको बैठकमा केन्द्रीय कमिटी सदस्य भारती पाठकले पार्टीको भावी दिशा, नेतृत्वको भूमिका र नीतिगत स्पष्टताबारे आफ्नो धारणा प्रस्तुत गर्नुभएको हो।
आफ्नो धारणा राख्ने क्रममा पाठकले पार्टी नेतृत्वको संरक्षण गर्दै संगठनलाई मजबुत बनाउनुपर्नेमा विशेष जोड दिनुभयो। उहाँले एमालेलाई जनताको हरेक सुखदुःखको वास्तविक साथीका रूपमा उभ्याउनुपर्ने बताउँदै नेतृत्व बलियो भए मात्रै पार्टीले आफ्नो जनविश्वास पुन: स्थापित गर्न सक्ने तर्क गर्नुभयो। पार्टीभित्रको आन्तरिक समीकरण र शक्ति सन्तुलनलाई ध्यानमा राख्दै शीर्ष नेतृत्वलाई जोगाएर लैजानु नै अहिलेको प्रमुख आवश्यकता रहेको उहाँको भनाइ थियो।
यसैगरी पाठकले जलवायु परिवर्तनको बढ्दो जोखिम र असरलाई एमालेको नीति, कार्यक्रम र अभियानसँग अनिवार्य रूपमा जोड्नुपर्ने धारणा राख्नुभयो। जलवायु परिवर्तनको मुद्दा अब बौद्धिक छलफलमा मात्र सीमित नराखी पार्टीले यसलाई आफ्नो रणनीतिक कार्यसूची बनाएर गाउँ तहसम्मै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो। स्थानीय स्तरका सर्वसाधारण जनता यसबाट प्रत्यक्ष प्रभावित हुने भएकाले वातावरणीय न्याय र अनुकूलनका कार्यक्रमहरूलाई एमालेका तल्लो कमिटीमार्फत गाउँ-गाउँमा अभियानका रूपमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो।
भारती पाठकले राख्नुभएको यो धारणाले एमालेको केन्द्रीय कमिटी बैठकमा एक नयाँ बहस र मार्गदर्शन प्रदान गरेको छ। राजनीतिक नेतृत्वको संरक्षण गर्दै पार्टी एकता कायम राख्ने र अर्कोतिर जलवायु परिवर्तनजस्ता जनजीविका तथा भविष्यसँग जोडिएका नवीन मुद्दाहरूलाई गाउँ-गाउँसम्म पुर्याएर संगठन विस्तार गर्ने उहाँको प्रस्तावलाई बैठकमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।










