हेटौँडा, १३ कात्तिक । हेटौँडा उपमहानगरपालिका–७ मा आज (शुक्रबार) देखि पाँच दिवसीय निःशुल्क बृहत् योग शिविर औपचारिक रूपमा सुरु भएको छ । पतञ्जली योग समिति हेटौँडा–७ को आयोजना तथा ७ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भएको शिविरको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभयो । ‘घर–घरमा योग, जन–जनमा योग, सदा योग, सदा निरोग’ भन्ने मूल ध्येयका साथ सुरु भएको यो शिविर कात्तिक १७ गतेसम्म हरेक दिन बिहान पौने ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछ ।
मौसममा आएको प्रतिकूलताका कारण शिविरको स्थानमा केही हेरफेर गरिएको छ । साविक निर्धारण गरिएको नवज्योति माध्यमिक विद्यालयको फुटबल चौरमा वर्षादका कारण कार्यक्रम गर्न असम्भव भएपछि सो स्थानभन्दा करिब ५ मिटर दक्षिणतर्फ रहेको कभर्डहलमा शिविर सम्पन्न गरिएको छ । प्रतिकुल मौसमका बाबजुद पनि योगानुरागी, साधक तथा साधिकाहरू दूरदराजबाट उत्साहजनक रूपमा शिविरमा सहभागी हुन आइपुगेका थिए । कार्यक्रम पतञ्जली योग समिति हेटौँडा–७ का संयोजक राम प्रसाद दाहालको अध्यक्षता तथा महामन्त्री ऋषि ढकालको सञ्चालनमा सम्पन्न भएको हो ।
शिविरमा मुख्य प्रशिक्षक तथा सहजकर्ताका रूपमा पतञ्जली योगपीठ नेपालका केन्द्रीय अध्यक्ष लवदेव मिश्र (गुरुज्यू) रहनुभएको छ । शिविर अवधिभर उहाँले सहभागीहरूलाई शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि योग, प्राणायाम र विभिन्न अभ्यासहरू गराउनुहुनेछ । विशेष गरी शरीरमा वात, पित्त र कफको सन्तुलन कायम राख्न, पाचन प्रणाली सुधार गर्नका साथै मोटोपन, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी रोगहरूको जोखिम न्यूनीकरणका लागि योगको भूमिकाबारे व्यावहारिक प्रशिक्षण दिइँदै छ ।
यसैबीच, सर्वसाधारणका लागि बिहानी सत्रमा सञ्चालन हुने शिविरका अतिरिक्त आजै (कात्तिक १३ गते) दिउँसो ११ बजेदेखि विशेष प्रशिक्षण कार्यक्रम पनि आयोजना गरिएको छ । कर्रास्थित जिल्ला योग भवनमा केन्द्रीय अध्यक्ष लवदेव गुरुज्यूको उपस्थितिमा पतञ्जलीका जिल्ला, महिला, युवा, नगर तथा ग्राम समितिका पदाधिकारी, सदस्य र सल्लाहकारहरूका लागि लक्षित गरी विशेष योग प्रशिक्षण सञ्चालन गरिने जनाइएको छ । पतञ्जली योग समितिले २०६७ सालदेखि नै यस क्षेत्रमा निरन्तर निःशुल्क योग अभ्यास गराउँदै आएको छ ।



















