हेटौंडा, २१ असार । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा कमिटीको आयोजनामा आज एक परिचर्चा तथा विस्तारित बैठक भव्यताका साथ सम्पन्न भएको छ। वडा कमिटीका अध्यक्ष सिंह बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश स्थानीय विभाग सदस्य एवं सोही वडाका वडा अध्यक्ष सुनिल मोक्तान प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य एवं वडा इन्चार्ज अर्जुन प्रसाद पोखरेल, जिल्ला कमिटी सदस्य गोकर्ण तिवारी, संघीय निर्वाचन क्षेत्र नं. १ समन्वय समिति सदस्य सुरेन्द्र लामा तथा पूर्व जनप्रतिनिधि कुमारी श्रेष्ठ लगायत स्थानीय नेता, कार्यकर्ता र आम वडावासीहरूको बाक्लो उपस्थिति रहेको थियो।
बैठकमा विशेष गरी बि.स.२०७९ को स्थानीय निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरूले हाल २०८३ सम्मको आफ्नो कार्यकालमा वडाको चौतर्फी विकासका लागि गरेका कामहरूको विस्तृत समीक्षा गरिएको थियो। आगामी वैशाखमा कार्यकाल समाप्त हुन लागेका जनप्रतिनिधिहरूले विगत ४ वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी तथा विद्युतीकरणको क्षेत्रमा हासिल भएका उपलब्धि र आगामी आर्थिक वर्षको बजेट तथा योजनाहरूका बारेमा स्पष्ट डाटासहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। पार्टी र वडावासीले सुम्पेको जिम्मेवारी र विश्वासलाई आत्मसात गर्दै अहिलेसम्म गरिएका कामहरूको विषयमा कार्यक्रममा गहन छलफल समेत भएको थियो।
छलफलका क्रममा सहभागी वडावासीहरूले जनप्रतिनिधिहरूको कार्यशैली र विकास निर्माणप्रति पूर्ण सन्तुष्टि व्यक्त गर्दै सकारात्मक प्रतिक्रिया दिएका थिए। वडामा भएका ठूला पूर्वाधार विकासका साथै व्यक्तिगत तहमा पर्ने व्यावहारिक समस्याहरू, जस्तै– बिरामी पर्दा उपचारमा सहयोग, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र आकस्मिक अवस्थामा एम्बुलेन्स सेवाको सहज व्यवस्थापनमा वडा अध्यक्ष सुनिल मोक्तान लगायतका जनप्रतिनिधिहरूले खेलेको अभिभावकीय भूमिकाको स्थानीयहरूले खुलेर प्रशंसा गरेका थिए। यसैगरी बैठकमा नेकपा एमालेद्वारा हाल देशैभरी सञ्चालन भइरहेको केन्द्रीय कार्यक्रम “पार्टी जागरण अभियान” का विषयमा समेत विशेष छलफल गरिएको थियो। देशव्यापी रूपमा चलिरहेको यसै अभियानअन्तर्गत वडा तहसम्म पार्टीको संगठन सुदृढीकरण र जनपरिचालनलाई अझ तीव्र गतिमा अगाडि बढाउने निर्णय समेत बैठकले गरेको छ।










