हाजिरीजवाफ प्रतियोगितामा तुलसी मेहर मेमोरियल मावि प्रथम

हेटौंडा । विद्यार्थीको बौद्धिक क्षमता, ज्ञान र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले जेसीआई हेटौंडाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालय प्रथम भएको छ। जेसीज सप्ताह २०२६ अन्तर्गत शुक्रबार आयोजित अम्बिका देवी कार्की स्मृति हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तुलसी मेहरले उपाधि आफ्नो पक्षमा पारेको हो।

हेटौंडा–९ स्थित जेसीज सचिवालयमा सम्पन्न प्रतियोगितामा प्रथम स्थान हासिल गरेको तुलसी मेहरले नगद ९ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा जि.एस. निकेतन माध्यमिक विद्यालय दोस्रो हुँदै ६ हजार रुपैयाँ र भुटनदेवी माध्यमिक विद्यालय तेस्रो हुँदै ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्न सफल भए। विभिन्न विद्यालयका विद्यार्थीबीच ज्ञान, तर्कशक्ति र तत्काल उत्तर दिने क्षमताको प्रतिस्पर्धा भएको थियो।

जेसीआई हेटौंडा वर्ष २०२६ का शाखा अध्यक्ष सन्तोष पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले गरेका थिए। कार्यक्रममा पुरस्कार सौजन्यकर्ता तथा जेसीआई हेटौंडाका पूर्व अध्यक्ष एवं जेसीआई नेपालका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष देवेन्द्र ध्वज कार्कीको विशिष्ट आतिथ्यता रहेको थियो। प्रतियोगिताको संयोजन रिदम पौडेलले गरेका थिए।

कार्यक्रममा जेसीआई हेटौंडाका पूर्व अध्यक्षहरू कुशकुमार रिजाल, रवि नेपाल, पवनकुमार कंसाकार र पंकज दास बानियाँलगायतको उपस्थिति रहेको थियो। विद्यार्थीको प्रतिभा पहिचान, ज्ञान अभिवृद्धि र शैक्षिक प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको जेसीज सप्ताह २०२६ को मूल संयोजकमा संजयकुमार न्यौपाने तथा सह–मूल संयोजकमा विनोद वाग्ले रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.