हेटौँडा । रसुवाको भोटेकोशीमा गत भदौमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका हेटौँडा–१५ निवासी स्वर्गीय सुमन गोले र रमेश मगरको स्मृतिमा आयोजित ‘१५ नं. वडास्तरीय स्नुकर च्याम्पियनसिप’ सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै निश्चल गुरुङ च्याम्पियन बन्न सफल भएका छन्।
हेटौँडा–१५ खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको समापन समारोह समितिका अध्यक्ष गोविन्द नेगीको सभाध्यक्षता तथा पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–१५ का वडाध्यक्ष सुनिल मोक्तान विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोक्तानले खेलकुदले मानिसलाई उत्साहित, ऊर्जाशील र अनुशासित बनाउँदै सकारात्मक दिशामा अघि बढ्न प्रेरित गर्ने बताउनुभयो। खेलकुद केवल मनोरञ्जन र प्रतिस्पर्धाको माध्यम मात्र नभई स्थानीय प्रतिभा उजागर गर्ने, समुदायलाई जोड्ने तथा स्थानको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्याउने माध्यमसमेत भएको उहाँको भनाइ थियो।
दिवङ्गत सुमन गोले र रमेश मगरको स्मृतिमा आयोजित प्रतियोगिताले उहाँहरूप्रतिको सम्मान र सम्झनालाई जीवन्त राख्नुका साथै स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको मोक्तानले उल्लेख गर्नुभयो। यस्ता खेलकुद गतिविधिले वडा तथा आसपासका बस्तीको पहिचान स्थापित गर्नुका साथै समग्र स्थानीय विकासमा समेत टेवा पुर्याउने उहाँले बताउनुभयो।
वडा नम्बर १५ ले दूरदर्शी सोचका साथ बहुआयामिक योजना र सिर्जनात्मक गतिविधिहरू अघि बढाएको भन्दै मोक्तानले वडाध्यक्ष सुनिल मोक्तान तथा वडा परिवारको प्रशंसासमेत गर्नुभयो।
प्रतियोगिताको अन्तिम नतिजाअनुसार निश्चल गुरुङ प्रथम हुँदै च्याम्पियन बने भने विशाल वाइबा द्वितीय भए। त्यस्तै, सबिन स्याङतान र रवि बज्यु सेमिफाइनलसम्म पुग्न सफल भए। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका निश्चल गुरुङले ‘हाइएस्ट ब्रेक’ को उपाधिसमेत आफ्नो नाममा लेखाउन सफल भए।
प्रतियोगितामा विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो। प्रथम भएका निश्चल गुरुङले ३० हजार रुपैयाँ तथा द्वितीय भएका विशाल वाइबाले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। त्यसैगरी, सेमिफाइनलमा पुगेका सबिन स्याङतान र रवि बज्योलाई जनही ५ हजार रुपैयाँ तथा ‘हाइएस्ट ब्रेक’ उपाधि जितेका निश्चल गुरुङलाई थप ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
दिवङ्गत व्यक्तिहरूको स्मृतिलाई खेलकुदसँग जोड्दै स्थानीय प्रतिभाको पहिचान, प्रोत्साहन र खेल संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले हेटौँडा–१५ मा खेलकुद गतिविधि विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ।



















