कुकुर तिहार किन मनाइन्छ ? धार्मिक, पौराणिक र व्यावहारिक महत्त्व

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन हर्षोल्लासका साथ कुकुर तिहार मनाइन्छ। यस दिन मानिसको बफादार साथी मानिने कुकुरलाई मीठा-मीठा खानेकुरा खुवाएर, टीका लगाई र फूलको माला पहिराएर विशेष सम्मान एवं पूजा गरिन्छ। हिन्दु धर्ममा कुकुरलाई केवल घरपालुवा जनावर मात्र नभई मृत्युका देवता यमराजको दूत र धर्म, निष्ठा तथा सुरक्षाको प्रतीकका रूपमा लिइन्छ। यस दिन कसैले पनि कुकुरप्रति अनादरपूर्ण व्यवहार गर्नु पाप मानिने शास्त्रीय एवं सांस्कृतिक मान्यता रहिआएको छ।

​कुकुर तिहार मनाउनुका पछाडि थुप्रै पौराणिक तथा धार्मिक कारणहरू जोडिएका छन्। पण्डित नारायणप्रसाद दुलालका अनुसार शास्त्रमा कुकुरलाई विधिवत् पूजा गर्ने भनեभनिए तापनि ‘स्वानबलि’ अर्थात् कुकुरलाई मन पर्ने खानेकुरा दिएर खुसी पार्नू भनिएको छ। पौराणिक मान्यता अनुसार यमलोकको द्वारमा श्याम र सबल नामका दुई कुकुर पहरेदारका रूपमा बस्छन्। यमराजको सान्निध्यमा जाँदा यी कुकुरहरूले दुःख नदिऊन् भनेर उनीहरूको सम्मान गर्ने प्रचलन छ। साथै, महाभारतको कथामा युधिष्ठिरलाई स्वर्ग यात्राको अन्त्यसम्म कुकुरले साथ दिएको र उक्त कुकुर स्वयम् धर्मराजको प्रतीक रहेको प्रसंगले कुकुरको निष्ठा र सद्गुणलाई उजागर गर्छ।

​हिन्दु परम्परामा कुकुरलाई मृत्युपछिको जीवन र यमलोकमा प्रवेशको प्रतीकात्मक पात्र मानिन्छ। कुकुरलाई सम्मान गर्दा यमराज प्रसन्न हुने र मृत्युपछिको जीवनमा शान्ति मिल्ने जनविश्वास छ। यसबाहेक, भगवान शिवको उग्र रूप कालभैरवको वाहन पनि कुकुरलाई मानिने भएकाले यसलाई न्याय र धर्मको रक्षक मानिन्छ। ज्योतिषीय मान्यता अनुसार कुकुरको सेवा गर्दा राहु र केतु ग्रहबाट लाग्ने पीडा समेत कम हुन्छ।

​धार्मिक तथा पौराणिक मान्यताभन्दा बाहिर व्यावहारिक जीवनमा पनि कुकुरको योगदान अतुलनीय छ। आज्ञापालक र रक्षकका रूपमा चिनिने कुकुरले घरको रेखदेख गर्ने, चोर-डाँकाबाट बचाउने र सङ्कटको बेला पूर्वसूचना दिने गर्छ। त्यस्तै, अपराध अनुसन्धान तथा विभिन्न प्राकृतिक प्रकोप र दैवी विपत्ति पूर्वअनुमान गर्न समेत कुकुरले मानिसलाई महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको छ। यी तमाम धार्मिक, सांस्कृतिक र सामाजिक कारणहरूले गर्दा नै कुकुरको निष्ठा, साहस र योगदानको उच्च कदर गर्दै कुकुर तिहार मनाउने गरिएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.