काठमाडौँ — लामो समयदेखि उपचारका क्रममा विदेशमा रहनुभएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले वर्तमान सरकारको कदम र राजनीतिक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै छिट्टै स्वदेश फर्कने घोषणा गर्नुभएको छ। जननायक बीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर जारी गरिएको वक्तव्यमा देउवाले सत्तापक्षले प्रतिपक्षी राजनीतिक दलहरूमाथि पूर्वाग्रह राखेर राज्यशक्तिको दुरुपयोग गरिरहेको आरोप लगाउनुभएको छ। न्यायालय तथा संवैधानिक निकायहरूलाई कार्यकारी नियन्त्रणमा राखेर त्रासको वातावरण सिर्जना गर्न खोजिएको दाबी गर्दै उहाँले सरकारको यस्तो अलोकतान्त्रिक व्यवहारका विरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गर्नुभएको छ।
वीपी कोइरालाको ऐतिहासिक राष्ट्रिय मेलमिलापको नीतिलाई स्मरण गर्दै देउवाले अहिलेको मुलुकको स्थितिमा पनि संवाद, सहकार्य र राष्ट्रिय एकताको उत्तिकै आवश्यकता रहेको औँल्याउनुभएको छ। प्रतिशोध र निषेधको राजनीतिले मुलुकलाई सही दिशा नदिने उल्लेख गर्दै उहाँले नयाँ पुस्ताको प्रविधि तथा ज्ञान र अनुभवी पुस्ताको अनुभवबीच समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ। सरकार अलोकतान्त्रिक बाटोमा हिँडे पनि नेपाली जनताको न्यायप्रतिको निष्ठा र चेतनाप्रति आफ्नो पूर्ण विश्वास रहेको बताउँदै देउवाले संविधान, लोकतन्त्र र जनताका अधिकारको रक्षाका लागि आफू चाँडै गृहभूमि फर्कन लागेको स्पष्ट पार्नुभएको छ।
नेपाली कांग्रेसले विगतमा शान्ति प्रक्रिया, संविधान निर्माण तथा महाविपद्का बेला जिम्मेवार भूमिका खेलेको प्रसङ्ग उल्लेख गर्दै पूर्वसभापति देउवाले वर्तमान चुनौतीहरूको सामना गर्न पार्टी अझ दृढ भएर प्रस्तुत हुने प्रतिबद्धता जनाउनुभएको छ। देशमा अविश्वास र विभाजनको सट्टा सहकार्य, सुशासन र सुदृढ लोकतन्त्रको जग बसाल्नुपर्नेमा जोड दिँदै उहाँले नागरिक समाज, युवा वर्ग र आम जनतालाई संविधानवाद र राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक उभिन अपिल गर्नुभएको छ।










