हेटौँडा, साउन ५ गते ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ स्थित ज्योति सामुदायिक वन, आपखोला सामुदायिक वन र रामधुनीखाली सामुदायिक वनमा वनमा आधारित खेतीको सम्भाव्यता अध्ययन तथा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश सभा सदस्य एवं वन तथा वातावरण क्षेत्रकी विज्ञ माननीय भारती पाठकको प्रमुख उपस्थितिमा भएको उक्त कार्यक्रममा वनको संरक्षण गर्दै स्थानीय समुदायको आर्थिकस्तर कसरी उकास्न सकिन्छ भन्ने विषयमा स्थलगत छलफल गरिएको थियो। माननीय पाठकले वन क्षेत्र भित्रै अदुवा लगायतका विभिन्न बहुउपयोगी कृषिजन्य तथा जडीबुटी खेती गरेर स्थानीयहरूले प्रत्यक्ष लाभ लिन सक्ने र यसले आत्मनिर्भरता बढाउने कुरामा जोड दिनुभयो।
उक्त अनौपचारिक अन्तरक्रिया कार्यक्रममा वन उपभोक्ता समितिका पदाधिकारीहरू, स्थानीय बासिन्दा तथा महिलाहरूको उपस्थिति रहेको थियो। वन क्षेत्रको भ्रमण र छलफलका क्रममा स्थानीयवासीहरूले वनमा आधारित व्यवसाय वा खेती गर्दा आइपर्ने व्यावहारिक जटिलता, कानुनी प्रक्रिया र प्राविधिक ज्ञानको अभाव जस्ता आफ्ना समस्याहरू माननीय पाठक समक्ष राखेका थिए। साथै, आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई दिगो बनाउन र स्थानीयलाई उत्साहित गर्न सरकारको तर्फबाट आवश्यक नीतिगत पहल र सहयोग हुनुपर्ने माग समेत उनीहरूले गरे।

सो अवसरमा माननीय पाठकले स्थानीयका समस्याहरूलाई सम्बोधन गर्दै वन र कृषिलाई जोडेर स्थानीय तह एवं प्रदेश सरकारमार्फत आवश्यक प्राविधिक सहयोग र सीपमूलक तालिम भित्र्याउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। जैविक विविधताको रक्षा गर्दै वनलाई आम्दानीको स्रोत बनाउन सके मात्र सामुदायिक वनको अवधारणा अझ बलियो हुने निष्कर्षका साथ कार्यक्रम समापन भएको थियो।










