स्व. बालकुमारी थापा छैठौं स्मृति दिवस तथा सम्मान कार्यक्रम हेटौंडामा सम्पन्न

हेटौंडा, २९ असार ।
बालकुमारी थापा स्मृति केन्द्र मकवानपुरको आयोजनामा हेटौंडामा “स्व. बालकुमारी थापा छैठौं स्मृति दिवस तथा सम्मान कार्यक्रम” सम्पन्न भएको छ। स्मृति केन्द्रकी अध्यक्ष जुनेली श्रेष्ठको सभाध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवं नेकपा एमालेका अग्रज नेता डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। उक्त विशेष समारोहमा निरंकुश पञ्चायती व्यवस्थाको कठिन कालखण्डदेखि लोकतन्त्र र गणतन्त्र स्थापनासम्म सामाजिक रूपान्तरण र महिला सशक्तीकरणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुहुने हेटौंडा–१५ निवासी ज्येष्ठ कम्युनिष्ट योद्धा श्री विष्णुदेवी थिङलाई नगद राशिसहित ‘सम्मान-पत्र’ द्वारा सम्मान गरियो। उक्त कार्यक्रमको सञ्चालन स्मृति केन्द्रकी सचिव सुमित्रा काफ्लेले गर्नुभएको थियो।

​ कार्यक्रममा विशेष रूपमा स्मरण गरिएकी “पार्टीकी आमा” स्व. बालकुमारी थापाको राजनीतिक तथा सामाजिक यात्रा निकै प्रेरणादायी र संघर्षपूर्ण रहेको चर्चा गरियो। वि.सं. २०३४ सालदेखि नै हटीया गाउँपार्टीको सक्रिय दल र २०४३ सालदेखि इलाका पार्टीमा संगठित हुँदै उहाँले २०४६ सालमा नेकपा एमाले मकवानपुरको जिल्ला कमिटी सदस्यका रूपमा भुमिका निभाउनुभएको थियो। तत्कालीन भूमिगत कालमा पार्टीका महत्त्वपूर्ण दस्ताबेजहरू सुरक्षित राख्ने, एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने, आफ्नै घरलाई आश्रयस्थल (सेल्टर) बनाउने र बैठकहरूका लागि चन्दा एवं रासन संकलन गर्ने जस्ता अत्यन्तै जोखिमपूर्ण काम उहाँले गर्नुभएको थियो। स्थानीय महिलाहरूलाई संगठित गर्दै प्रौढ कक्षा सञ्चालन गरेर चेतना फैलाउनुभएकी थापा वि.सं. २०४५ सालमा महिला दिवस मनाउने क्रममा प्रहरीद्वारा पक्राउसमेत पर्नुभएको थियो।

​ जीवनको अन्तिम समयसम्म निष्ठा र समर्पणको साथ निरन्तर खटिनुहुने आदरणीय बालकुमारी थापाले नयाँ पुस्तालाई सधैं धैर्यता र सक्रियताका साथ कम्युनिष्ट आन्दोलनमा लाग्न प्रेरणा दिनुभएको वक्ताहरूले बताए। उहाँको यही अतुलनीय योगदान र सत्प्रयासलाई जीवन्त राख्न अनेमसंघ मकवानपुरको सामूहिक प्रयासबाट वि.सं. २०८० साल चैतमा जिल्ला प्रशासन कार्यालयमा विधिवत् रूपमा “बालकुमारी थापा स्मृति केन्द्र” दर्ता गरिएको थियो। यस केन्द्रको अक्षयकोषबाट प्राप्त हुने रकममार्फत हरेक वर्ष राजनीतिक र सामाजिक क्षेत्रमा उदाहरणीय योगदान पुर्‍याउने अग्रणी महिलाहरूलाई नगद राशिसहित सम्मान गर्ने उद्देश्यअनुरूप यस वर्ष विष्णुदेवी थिङलाई सम्मानित गरिएको जानकारी गराइयो।

​उक्त गरिमामय कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देल, प्रदेश कमिटी सचिवालय सदस्य रघुनाथ खुलाल, प्रदेश कमिटी सदस्यहरू गोपाल बहादुर श्रेष्ठ, रामचन्द्र राई र कमल विष्टको आतिथ्यता रहेको थियो। त्यसैगरी नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सचिव सीता विष्ट, उपसचिवद्वय आरती पाठक र फुर्वा दोर्जे लामा लगायतका नेता, कार्यकर्ता तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि पौडेल लगायतका अतिथिहरूले स्व. थापाको तस्बिरमा माल्यार्पण गर्दै उहाँको मार्गदर्शन र आदर्शलाई कहिल्यै बिर्सन नसकिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.