मुनसोङ फुटबल: साविक विजेता हेटौंडा फुटबल एकेडेमीको यात्रा सेमिफाइनलमा टुङ्गियो, लाङजिङ ब्वाइज फाइनलमा

हेटौंडा । भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा जारी ८० औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा लगातार दुई पटकको विजेता हेटौंडा फुटबल एकेडेमीको यात्रा यस वर्ष सेमिफाइनलमै सीमित भएको छ । मुनसोङ स्पोर्टिङ क्लबको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत मंगलबार भएको सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी लाङजिङ ब्वाइजसँग ६–१ को भारी गोलअन्तरले पराजित भयो । पहिलो हाफमै २–० ले पछि परेको हेटौंडाले दोस्रो हाफमा थप ४ गोल खान पुग्यो भने खेलको अन्त्यतिर केवल एक सान्त्वना गोल मात्र फर्काउन सक्यो ।

​प्रतियोगिताको सुरुवाती चरणमा एकछत्र राज गरेको हेटौंडा फुटबल एकेडेमीका लागि सेमिफाइनलको नतिजा अप्रत्याशित रह्यो । यसअघि हेटौंडाले माम्रिङ ब्वाइजलाई ८–१, हाइल्याण्डर वारियरलाई १३–२ र फारम ब्वाइजलाई ८–१ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । मुनसोङमा विगत तीन वर्षदेखि सहभागिता जनाउँदै आएको हेटौंडाले पहिलो वर्ष उपविजेता र दोस्रो तथा तेस्रो वर्ष लगातार उपाधि जितेको थियो । तर, यसपटक भने सिक्किममा खेलिएका अघिल्ला दुई प्रतियोगितासहित मुनसोङबाट पनि बाहिरिएसँगै हेटौंडाको यस वर्षको सिक्किम–बंगाल भ्रमण उपाधिविहीन बन्न पुगेको छ ।

​जुलाई २६ बाट सुरु भएको यस प्रतिष्ठित प्रतियोगिताको फाइनल खेल आगामी अगष्ट १५ (इन्डिपेन्डेन्स डे) का दिन हुनेछ, जहाँ यसपटक पुरस्कार राशि समेत वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । हेटौंडा फुटबल एकेडेमी प्रतियोगिताबाट बाहिरिए पनि उत्कृष्ट खेल प्रदर्शन गरेका विधागत खेलाडीहरुलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक मुनसोङ स्पोर्टस् क्लबले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.