हेटौँडा, कात्तिक १० गते।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ वडा कार्यालयको आयोजनामा सञ्चालन हुने ‘वडा अध्यक्ष कप-२०८३ राष्ट्रिय स्नुकर च्याम्पियनसिप (टप-१६)’ को टाइसिट सार्वजनिक गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। हेटौँडाको लियम स्नुकर हाउस (Liam Snooker House) मा आयोजना हुने यस राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगितामा देशैभरिबाट चयन भएका १६ जना उत्कृष्ट खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तानको समुपस्थितिमा टाइसिट तान्ने र खेल तालिका टुंगो लगाउने कार्य सम्पन्न गरिएको हो।
टाइसिट सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी गोकर्ण तिवारी, हेटौँडा-१५ का खेलकुद विकास समिति अध्यक्ष गोबिन्द नेगि, तथा समाजसेवी एवं हेटौँडा-१५ निवासी शेखर पोखरेललगायत विशिष्ट महानुभावहरूको आतिथ्यता रहेको थियो। कार्यक्रमको सहजीकरण आलोक स्याङ्तानले गर्नुभएको थियो भने प्रतियोगिताको सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी संयोजक प्रीतम रानाले सम्हाल्नुभएको छ।
यस राष्ट्रिय च्याम्पियनसिपमा देशभरिबाट हेटौँडादेखि धनगढीसम्मका १६ जना प्रतिभावान खेलाडीहरूले सहभागिता जनाउने पक्का भएको छ। प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीहरूमा नितेश खण्डेवाल (हेटौंडा), सोम लामा (हेटौंडा), मिथुन लामा (हेटौंडा), राजन लामा (काठमाडौँ), वाइचुङ लामा (काठमाडौँ), साविन तामाङ (काठमाडौँ), राजन खड्का (काठमाडौँ), सोम वि.क. (पोखरा), मिलन तामाङ (काभ्रे), रोहित क्षेत्री (धनगढी), कमल लामा (काठमाडौँ), कुडुल श्रेष्ठ (पाल्पा), परिवेश रेग्मी (पोखरा), दिनेश कार्की (काठमाडौँ), विनोद श्रेष्ठ (काठमाडौँ) र फुर्वादोर्जे शेर्पा (काठमाडौँ) रहेका छन्।
प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रम भोली (कात्तिक ११ गते) बिहान ठीक ९ बजे भव्य रूपमा हुनेछ। उक्त उद्घाटन समारोहमा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानिया प्रमुख अतिथिका रूपमा उपस्थित भई प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ। राष्ट्रिय स्तरका ख्यातिप्राप्त खेलाडीहरूको जमघट हुने यस प्रतियोगिताले स्थानीयस्तरमा स्नुकर खेलको क्रेज बढाउनुका साथै उत्कृष्ट खेलाडीहरूको प्रतिभा प्रस्फुटन गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
खेलाडीहरूको प्रोत्साहन र खेलको प्रतिस्पर्धालाई थप रोचक बनाउन आयोजकले आकर्षक पुरस्कार राशि घोषणा गरेको छ। प्रतियोगिताको विजेताले नगद रु १,००,०००/-, फस्ट रनर अप (उपविजेता) ले रु ५०,०००/-, सेमिफाइनिस्टहरूले जनही रु १५,०००/-, हाइएस्ट ब्रेककर्ताले रु १५,०००/- र सेन्चुरी ब्रेक गर्ने खेलाडीले जनही रु ११,१११/- नगद पुरस्कार प्राप्त गर्नेछन्। भोलीदेखि सुरु हुने यस खेलले हेटौँडाको खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।



















