हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ मा ‘चौथो वडाध्यक्ष कप फुटबल प्रतियोगिता’ भव्य रूपमा सुरु भएको छ। विविध खेलकुद गतिविधिहरू समेटेर सप्ताहव्यापी रूपमा आयोजना गरिएको यस प्रतियोगिताको पहिलो दिन आयोजित उद्घाटन खेलमा मनकामना ‘ख’ टोल विकास संस्था विजयी बनेको छ।
उद्घाटन खेल किरणचोक टोल र मनकामना ‘ख’ टोल विकास संस्थाबीच सञ्चालन भएको थियो। रोमान्चक बनेको उक्त खेलमा मनकामना ‘ख’ टोलले किरणचोक टोललाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राम थापाको सभाध्यक्षतामा प्रतियोगिताको समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा पूर्व वडाध्यक्ष भीमप्रसाद पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भई प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो।
टोलीलाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गर्नुभएका मनकामना ‘ख’ टोल विकास संस्थाका खेलाडी दिपेश थोकर खेलको ‘म्यान अफ दि म्याच’ घोषित हुनुभयो। उहाँले मैदानमा उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीको जित सुनिश्चित गर्नुभएको थियो।
कूल आठ वटा टोल विकास संस्थाहरूको सहभागिता रहेको यस सप्ताहव्यापी खेलकुद महोत्सव अन्तर्गत भोलिको दोस्रो दिनको खेल देवनगर टोल र कर्णावती टोल विकास संस्थाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।



















