‘लाइफ’ भन्दा ‘लाइक’को चक्करमा सरकार लागेको गगन थापाको आरोप,

काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकार विधि र प्रक्रियालाई मिचेर केवल सस्तो लोकप्रियताको पछि कुदेको आरोप लगाउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको सरकारको १०० दिने समीक्षा कार्यक्रममा बोल्दै सभापति थापाले वर्तमान सरकार परिणाममुखी देखिने बहानामा कानुन विपरीतका कार्य गर्न उद्धत रहेको टिप्पणी गर्नुभयो । उहाँले विधिको शासनलाई बेवास्ता गर्दै हिँड्ने अहिलेको प्रवृत्तिको तुलना २०७४ सालको निर्वाचनपछि बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारसँग गर्दै वर्तमान कार्यशैलीमा कुनै तात्त्विक भिन्नता नरहेको दाबी गर्नुभयो ।

​रास्वपाको एकल सरकार नागरिकको वास्तविक जीवन (लाइफ) सुधार्नुभन्दा सामाजिक सञ्जालको ‘लाइक’ र वाहवाही कमाउन केन्द्रित भएको थापाको तर्क थियो । भूमिहीन र सुकुमबासीको समस्यालाई कानुनी दायरा र नीति बनाएर स्थायी रूपमा समाधान गर्न सकिने विकल्प हुँदाहुँदै, केवल सञ्जालमा चर्चा बटुल्नकै लागि बस्तीहरूमा डोजर चलाइएको उहाँले उदाहरण दिनुभयो । कानुनी र नीतिगत बाटो हिँड्दा तत्कालै सञ्जालमा ताली नपाइने भएकाले सरकारले बल प्रयोगको बाटो रोजेको उल्लेख गर्दै थापाले प्रक्रिया मिचेर गरिने यस्ता कामले समस्या झन् बल्झाउने बताउनुभयो ।

​सरकारको कार्यशैलीमाथि तीखो आलोचना गरे पनि सभापति थापाले प्रधानमन्त्री शाहको एउटा कदमको भने प्रशंसा गर्नुभएको छ । विगतका शासकहरूले जस्तो बालुवाटारबाट शक्ति केन्द्रित गर्नुको सट्टा मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाटै शासन सञ्चालन गर्ने परिपाटी बसालेको भन्दै उहाँले प्रधानमन्त्रीको सकारात्मक कदमको सराहना गर्नुभयो । तथापि, सरकारले लोकप्रियतावादी बाटो छोडेर विधिको शासनलाई पूर्ण रूपमा आत्मसाथ नगरेसम्म नागरिकले परिवर्तनको वास्तविक अनुभूति गर्न नसक्ने विश्लेषण कांग्रेसको समीक्षा बैठकमा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.