हेटौंडा । भारतको पाक्योङमा जारी ८० औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा सुरुवाती अग्रता जोगाउन नसक्दा हेटौंडा फुटबल एकेडेमी प्रतियोगिताबाट बाहिरिएको छ । पाक्योङ स्पोर्ट्स क्लबको आयोजना र स्थानीय जिल्ला प्रशासन केन्द्रको सहकार्यमा भइरहेको खुल्ला नकआउट प्रतियोगितामा ‘बाइ’ पाएर सिधै क्वार्टरफाइनल खेलेको हेटौंडा घरेलु टोली फरेष्ट डिपार्टमेन्टसँग ३–१ गोल अन्तरले पराजित हुन पुग्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको रोमान्चक खेलमा हेटौंडाले दोस्रो हाफको सुरुवातमै पेनाल्टीमार्फत अग्रता लिए पनि त्यसलाई अन्तिमसम्म टिकाउन सकेन ।
खेलको दोस्रो हाफमा हेटौंडाका खेलाडीलाई डि–बक्स एरियाभित्र फल गरेपछि पाएको पेनाल्टीको सुनौलो अवसरलाई कृष्ण आले मगरले गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । तर, हेटौंडाको यो खुसी धेरै समय टिक्न पाएन । गोल खाएको ६ मिनेटभित्रै फरेष्ट डिपार्टमेन्टका दानियल लियाङले फ्रि-किकमा उत्कृष्ट हेड गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि आक्रामक बनेको घरेलु टोलीका लागि दानियलले नै व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्याए भने खेल सकिन ५ मिनेट बाँकी छँदा फरेष्ट डिपार्टमेन्टले अर्को गोल थप्दै हेटौंडाको पुनरागमनको सम्भावना समाप्त पारिदियो ।
पाक्योङस्थित एसटी जेर्भिएस विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको यस प्रतिष्ठित प्रतियोगितामा कुल २० वटा टोलीले सहभागिता जनाएका छन् । आगामी अगष्ट १५ (इन्डिपेन्डेन्स डे) का दिन फाइनल खेल हुने यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । पहिलो खेलमै स्तब्ध बनेको हेटौंडा एकेडेमी उपाधि यात्रा र मोटो राशिको पुरस्कार जित्नबाट चुके पनि विदेशी भूमिमा नेपाली खेलाडीले गरेको सुरुवात भने सम्भावनायुक्त देखिएको थियो ।








