आलोचना र अवरोध चिर्दै हेटौँडा–४ मा परिणाममुखी विकास: हुप्राचौरदेखि भैरवरोडसम्म देखिन थाल्यो परिवर्तन

राजनीतिक दाउपेच र सार्वजनिक आलोचनालाई भाषणले नभई ठोस काम र नतिजाले जवाफ दिने रणनीतिमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ नेतृत्व ओर्लिएको छ। विगतमा आफ्ना भौतिक संरचना ध्वस्त भई खरानी बनेको संकटपूर्ण अवस्थाबाट पुनर्उत्थानको बाटो समातेको वडा प्रशासनले अहिले जनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने पूर्वाधार निर्माण र पुराना समस्याको दिगो समाधानलाई प्राथमिकता दिएको छ। हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देलका अनुसार, सडकका विरोध र सञ्जालका बहसभन्दा माथि उठेर जनताले महसुस गर्ने गरी कामको नतिजा देखाउने अभियान अहिले तीव्र पारिएको छ।

​यस अभियानअन्तर्गत वर्षौँदेखि स्थानीयले सास्ती खेप्दै आएको भैरवरोड क्षेत्रको डुबान र ढल निकासको समस्या समाधानका लागि सरकारी प्रक्रिया पूरा गरी द्रुत गतिमा मर्मत तथा पुनःनिर्माण भइरहेको छ। भौगोलिक जटिलता, साँघुरो संरचना र निरन्तरको वर्षाका बाबजुद भैरवरोड–चिसापानी क्षेत्रका ब्लक भएका ढलका चेम्बर सफा गर्ने र हुप्राको पानी ट्याङ्कीबाट पशुपति जाने सडकको स्तरीकरण गर्ने काम अघि बढाइएको छ। विगतमा तीव्र आलोचना खेपेको लोकतान्त्रिक चौर (हुप्रा) स्थित ज्येष्ठ नागरिक कक्ष निर्माण सम्पन्न भई अहिले ज्येष्ठ नागरिक र सार्वजनिक कार्यक्रमका लागि फलदायी बनेसँगै पूर्वाधार निर्माणप्रतिको पूर्वअनुमान र विरोधको सान्दर्भिकता गलत सावित भएको छ।

​विकास निर्माणलाई राजनीतिक मतभेदभन्दा माथि राखेर सामूहिक उत्तरदायित्वका रूपमा लिनुपर्ने सन्देश दिँदै वडा नेतृत्वले रचनात्मक आलोचनालाई आत्मसात गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ। राजनीतिक र प्रशासनिक अवरोधबीच पनि जनहितका कामबाट पछि नहट्ने अडानका साथ हेटौँडा–४ ले सुरु गरेको यो ‘परिणाममुखी कार्यशैली’ले स्थानीय तहमा कामको नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.