मकवानपुरमा साना सवारी दुर्घटना न्यूनीकरणबारे बहुपक्षीय छलफल: सडक सुरक्षाका लागि १५ बुँदे ठोस सुझाव पारित

हेटौंडामा पछिल्लो समय साना सवारी साधन दुर्घटनामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। टाटा सुमो, EV (विद्युतीय) गाडी लगायतका साना सवारी साधनहरूको दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा र व्यवस्थित सञ्चालनका लागि आयोजित उक्त कार्यक्रममा सुरक्षा निकाय, यातायात कार्यालय, पूर्वाधार कार्यालय, यातायात व्यवसायी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

​छलफल कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, ट्राफिक प्रहरी निरीक्षक रमेश बिष्ट, पूर्वाधार कार्यालय प्रमुख सुजन भण्डारी तथा नारायणी यातायात व्यवसायी संघका प्रतिनिधि विश्वराज राईलगायतका सरोकारवालाहरूले आफ्ना धारणा राख्नुभएको थियो। कार्यक्रममा सहभागी पत्रकारहरूले सडक सुरक्षा, भाडा दर र सवारी सञ्चालनका विद्यमान समस्याबारे जिज्ञासा, सल्लाह तथा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए।

​छलफलका क्रममा सडक दुर्घटना रोक्न र यात्रा व्यवस्थित बनाउन विभिन्न १५ बुँदे महत्वपूर्ण सुझावहरू संकलन तथा तय गरिएका छन्। जसअनुसार बुद्ध चोकमा मान्छे तान्ने (ताजा) प्रवृत्तिको अन्त्य गर्न कडाइ गर्ने, चालकहरूको सुविधामा ध्यान दिँदै उनीहरूलाई यात्रुमैत्री बनाउने, आसन्न चाडपर्वलाई लक्षित गरी सडक सुरक्षा योजना तयार पार्ने, र विद्युतीय (EV) गाडी चालकहरूका लागि विशेष तालिमको व्यवस्था गर्ने निर्णय र सुझाव अघि सारिएको छ।

​त्यस्तै सवारी साधनको गति र समय नियन्त्रण गर्न तत्काल टाइमकार्ड लागू गर्ने, GPS जडान गर्ने, देउरालीमा ट्राफिक पोस्ट स्थापना गर्ने र एकै ठाउँबाट काउन्टर सञ्चालन गरी टिकट काउन्टरबाट मात्रै टिकट काट्ने व्यवस्था मिलाउनुपर्ने निष्कर्ष निकालिएको छ। चलानीमा यात्रुको स्पष्ट विवरण लेखी चेकिङ चुस्त बनाउने, भैँसे वा भिमफेदीबाट पटके काट्ने सुविधा दिने, बढी भाडा लिनेलाई कडा कारबाही गर्ने, राजमार्गमा पार्किङ पूर्ण निरुत्साहित गर्ने र ट्राफिक चेकजाँचलाई थप प्रभावकारी बनाउने सहमति भएको छ।

​कार्यक्रमको अन्त्य गर्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले प्राप्त सम्पूर्ण सुझावहरूलाई थप स्पष्ट पार्दै सडक सुरक्षा कायम गर्न सबै सरोकारवाला निकायले आ-आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिनुभयो। यात्रु स्वयं पनि सजग हुनुपर्ने बताउँदै उहाँले नियम उल्लङ्घन गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइने र असोज २ गतेदेखि सडकखण्ड पहिले जस्तै दुवैतर्फ नियमित एवं सुरक्षित रूपमा सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.