हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ का बासिन्दालाई घरआँगनमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हेटौंडा १८ वडा कार्यालय र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच एक वर्षका लागि महत्त्वपूर्ण सम्झौता भएको छ। यस सम्झौता अनुसार अब वडाबासीले आफ्नै क्षेत्रमा निःशुल्क विशेषज्ञ स्वास्थ्य परामर्श तथा उपचार सेवा प्राप्त गर्ने भएका छन्।
सम्झौता बमोजिम महिनाको दुई पटक वडा नम्बर १८ मा विशेषज्ञ डाक्टरहरूको टोलीले स्वास्थ्य सेवा प्रदान गर्नेछ। प्रारम्भिक चरणमा स्त्रीरोग विशेषज्ञ (गाइनोलोजिस्ट) र फिजिसियन सेवा उपलब्ध गराइने छ। आगामी दिनमा स्थानीयको आवश्यकता र मागलाई मध्यनजर गर्दै आँखा, नाक, कान, घाँटी लगायतका अन्य विषयगत विशेषज्ञ डाक्टरहरूको सेवासमेत विस्तार गर्दै लैजाने योजना बनाइएको छ।
यस कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न दुवै पक्षको स्पष्ट जिम्मेवारी तय गरिएको छ। जसअन्तर्गत मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आवश्यक प्राविधिक सहयोग तथा विशेषज्ञ चिकित्सक टोलीको व्यवस्थापन गर्नेछ भने हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ ले आवश्यक आर्थिक तथा भौतिक व्यवस्थापनमा सहयोग पुर्याउनेछ।
उक्त द्विपक्षीय सम्झौता पत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट प्राध्यापक डाक्टर दिनेश लामिछानेले हस्ताक्षर गर्नुभएको छ भने वडा कार्यालयको तर्फबाट हेटौंडा वडा नम्बर १८ का वडा अध्यक्ष अनिल बानियाँले हस्ताक्षर गर्नुभएको छ। दुवै निकायका प्रतिनिधिहरूको उपस्थितिमा सम्झौता पत्र आदानप्रदान गर्दै कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको हो।
कोही पनि नागरिक आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् र गाउँघरमा रोग लुकाएर बस्ने बाध्यताको अन्त्य होस् भन्ने मूल उद्देश्यले यो पहल गरिएको वडा अध्यक्ष अनिल बानियाँले बताउनुभयो। आफ्नै घरआँगनमा सहजरूपमा निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाउने भएपछि यसबाट विपन्न तथा आम वडाबासीलाई ठूलो राहत मिल्ने र स्थानीय स्वास्थ्य सुधारमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।










