मकवानपुर प्रहरीले सार्वजनिक गरेको वार्षिक तथ्याङ्क अनुसार जिल्लामा लागुऔषध नियन्त्रण र अदालतको फैसला कार्यान्वयनमा उल्लेख्य प्रगति हासिल भएको छ। विगतमा मुख्य चुनौती मानिने चोरी, अभद्र व्यवहार र भौतिक अपराधहरू नियन्त्रणमा आउँदै गर्दा अनलाइन ठगी र प्रविधिजन्य ‘साइबर अपराध’ भने प्रहरीका लागि नयाँ र जटिल चुनौतीका रूपमा देखा परेको छ।
तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चोरी र बैंकिङ कसुरजस्ता परम्परागत अपराधमा कमी आए पनि सामाजिक सञ्जाल र प्रविधिमार्फत हुने ठगी दोब्बरभन्दा बढीले वृद्धि भएको छ। आर्थिक वर्षको सुरुवाती चरणमा ५० वटा दर्ता भएको फेसबूक तथा टिकटक ह्याक र फेक आईडीसम्बन्धी उजुरी वर्षको अन्त्य सम्म बढेर कुल १२६ पुगेको छ भने अनलाइन ठगी (स्क्याम) सम्बन्धी निवेदन १५५ बाट ह्वात्तै बढेर कुल ३५४ पुगेको छ।
लागुऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रणमा भने प्रहरीको सक्रियता बढेको देखिन्छ। अघिल्लो आवमा १८८ वटा लागुऔषधका मुद्दा दर्ता भएकोमा यस वर्ष बढेर २१४ पुगेको छ भने पक्राउ पर्ने अभियुक्तको संख्या २८९ बाट बढेर ४०४ पुगेको छ। प्रहरीले चालु आवमा मात्रै २ हजार ६२९ किलो गाँजा, १२५ किलो चरेश र ४९ किलो अफिम बरामद गरी ठूलो सञ्जाल नियन्त्रणमा लिएको छ।
सडक सुरक्षा र ट्राफिक व्यवस्थापनतर्फ प्रहरीले चालु आवमा कुल १८,१९२ वटा सवारी साधनलाई कारबाही गरी १ करोड ७२ लाख ५४ हजार ५०४ रुपैयाँ राजस्व संकलन गरेको छ। यस्तै सवारी दुर्घटनामा परि अघिल्लो छ महिनामा ३५ जना र पछिल्लो छ महिनामा २९ जना गरी कुल ६४ जनाले ज्यान गुमाएका छन्। मादक पदार्थ सेवन (मा.प.से.) गरी सवारी चलाउने ७१३ जना चालक र लागुऔषध सेवन (ला.प.से.) गरी सवारी हाँक्ने ४५ जनालाई कारबाही दायरामा ल्याइएको छ।
गैरकानुनी धन्दा, नदीजन्य पदार्थको अवैध उत्खनन र राजस्व छली नियन्त्रणमा पनि प्रहरीले कडा कदम चालेको छ। चालु आवमा भन्सार छली ल्याइएका २२ लाखभन्दा बढी मूल्यका अवैध मालसामान बरामद हुनुका साथै नदीजन्य पदार्थको अवैध दोहन गर्ने १३६ वटा सवारी साधनलाई नियन्त्रणमा लिई १० लाख ५३ हजारभन्दा बढी जरिवाना असुल गरिएको छ।
अदालतको फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले उल्लेख्य सफलता हासिल गरेको छ। फरार रहेका २३८ जना प्रतिवादीहरूलाई पक्राउ गरी कुल १०६ वर्ष ७ महिनाभन्दा बढी कैद सजाय भुक्तानका लागि पठाइएको छ। समग्रमा तथ्याङ्कले मकवानपुर प्रहरी भौतिक अपराध नियन्त्रणमा सफल देखिँदै गर्दा अबका दिनमा साइबर सुरक्षा र प्रविधिजन्य ठगी नियन्त्रणका लागि थप सतर्क र प्रविधिमैत्री बन्नुपर्ने आवश्यकता औंल्याएको छ।










