हेटौँडा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बनेका नागरिकहरूलाई राहत तथा पुनर्स्थापनामा सघाउन मकवानपुरका वन पैदावार उद्योगी तथा व्यवसायीहरूले ऐक्यबद्धता जनाएका छन्। नेपाल वन पैदावार उद्योग व्यवसायी सङ्घ मकवानपुरमा आबद्ध व्यवसायीहरूले स्वेच्छिक रूपमा रकम सङ्कलन गरी राहत कोषमा पठाएका हुन्।
सङ्घका अनुसार भाद्र १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण विस्थापित र सङ्कटमा परेका बाढीपीडितको सहयोगार्थ मकवानपुरका २८ जना उद्योगी व्यवसायीहरूबाट एकमुष्ठ २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ रकम जुटाइएको हो। भाद्र २४ गते सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अगाडि बढाइएको छ।
मकवानपुर सङ्घका अध्यक्ष धर्मराज बस्नेतका अनुसार सङ्कलित सहयोग रकम नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घको केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। प्राकृतिक विपत्तिको घडीमा निजी क्षेत्र र उद्योगी व्यवसायीहरूको तर्फबाट राहतमा सानो भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले यो हातेमालो गरिएको सङ्घले जनाएको छ।











