भोटेकोशीका बाढीपीडितलाई मनहरी गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने

मनहरी (मकवानपुर) — रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएकाहरूका लागि मकवानपुरको मनहरी गाउँपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि गाउँपालिकाले उद्धार तथा राहतका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

​आइतबार बसेको मनहरी गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले पालिकाको कोषबाट १० लाख रुपैयाँ प्रधानमन्त्री विपद् सहायता कोषमा जम्मा गर्ने निर्णय गरेको छ। यसैगरी, बाढीपीडितको सहयोगार्थ गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आफ्नो ३ महिनाको सेवा सुविधा र अन्य जनप्रतिनिधिहरूले १ महिनाको सेवा सुविधा बापतको रकम सोही कोषमा जम्मा गर्ने निर्णय भएको पालिकाले जनाएको छ।

​नगद सहयोगसँगै गाउँपालिकाले विपद् उद्धारका लागि भौतिक सामग्रीसमेत उपलब्ध गराएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरको पत्रअनुसार आवश्यक उद्धार सामग्रीहरू गाउँपालिकाले सुपारेटार ब्यारेकलाई हस्तान्तरण गरिसकेको छ।

​यसैबीच, बाढी प्रभावित क्षेत्रमा पठाउन खाद्यान्न तथा जिन्सी सामग्री संकलनका लागि गाउँपालिकाले स्थानीय संघ-संस्थाहरूलाई आह्वान गरेको छ। पालिकाभित्रका उद्योग वाणिज्य संघ, मध्यवर्ती क्षेत्र समिति, सामुदायिक वन उपभोक्ता समिति, सरकारी तथा गैरसरकारी संघ-संस्था र स्थानीय बासिन्दालाई राहत सामग्री उपलब्ध गराउन अपिल गरिएको छ।

​राहत संकलन र व्यवस्थापनका लागि सम्बन्धित वडाका वडाध्यक्षहरूका साथै सम्पर्क व्यक्ति ज्ञानेन्द्र ढकाल (९८४५९७८२८१) र नगर प्रहरी प्रमुख मेनराज घलान (९८२१८९००४७) लाई जिम्मेवारी तोकिएको छ। गाउँपालिकाले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.