विद्यार्थी नेता पक्राउप्रति राष्ट्रिय युवा संघको आपत्ति: बिनासर्त रिहाइ नगरे कडा आन्दोलनको चेतावनी

काठमाडौं, असार ३१ ।
राष्ट्रिय युवा संघ नेपालले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थी नेताहरूमाथि सरकारले गरेको धरपकड र गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ। संघका अध्यक्ष महाराज गुरुङद्वारा जारी विज्ञप्तिमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष कमरेड दीपक धामी लगायतका विद्यार्थी नेतृत्वलाई पक्राउ गरिएको घटनाप्रति घोर भर्त्सना गरिएको छ। युवाहरूले आफ्ना असन्तुष्टि, चिन्ता र मागलाई शान्तिपूर्ण रूपमा अभिव्यक्त गर्न खोज्दा राज्यले संवादको सट्टा दमनको बाटो रोज्नु लोकतान्त्रिक शासन प्रणालीका लागि अत्यन्तै दुर्भाग्यपूर्ण संकेत भएको युवा संघको ठहर छ।

​ युवा संघले सरकारको यो कदमले नागरिकको असहमतिलाई नै अपराधका रूपमा व्याख्या गर्ने मानसिकता स्पष्ट पारेको आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रमा सरकारको शक्ति नागरिकलाई मौन बनाउने अधिकारबाट होइन, नागरिकको विश्वासबाट प्राप्त हुन्छ।” तर पछिल्ला दिनहरूमा राज्यका निकायहरूले संवाद गर्नुभन्दा शक्ति प्रदर्शनमार्फत भयको वातावरण सिर्जना गर्न बढी केन्द्रित देखिएको र सत्ता-संरक्षित तत्व तथा कथित ‘भिजिलान्ते’ प्रवृत्तिलाई खुला वा मौन संरक्षण मिलिरहेको प्रति संघले गम्भीर चिन्ता व्यक्त गरेको छ।

​ सरकार आजका युवापुस्ताको रोजगारी, उद्यम, गुणस्तरीय शिक्षा, र न्यायपूर्ण प्रतिस्पर्धा जस्ता न्यूनतम अपेक्षाहरू सम्बोधन गर्न असफल भएको विज्ञप्तिमा उल्लेख छ। गरिब, श्रमिक, किसान र सीमान्तकृत समुदायको हितमा केन्द्रित हुनुपर्नेमा सरकार सीमित पहुँच भएका सम्भ्रान्त वर्ग र सत्ताको वरिपरि रहेका अभिजात वर्गको हित संरक्षणमा लागेको आरोप लगाइएको छ। युवा संघले पक्राउ परेका अनेरास्ववियुका अध्यक्ष धामी लगायत सम्पूर्ण विद्यार्थी नेता तथा कार्यकर्ताहरूलाई अविलम्ब बिनाशर्त रिहा गर्न माग गर्दै, नागरिक स्वतन्त्रतामाथिको हस्तक्षेप रोक्न आग्रह गरेको छ। यदि सरकार युवाहरूको भविष्य र लोकतान्त्रिक मूल्य-मान्यताप्रति उदासीन रहिरहेमा त्यसबाट उत्पन्न हुने असन्तुष्टि र जनदबाबको सम्पूर्ण राजनीतिक तथा नैतिक जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने चेतावनी समेत दिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.