हेटौँडा, २७ असार । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ बाट यस वर्ष प्लस टु (कक्षा १२) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई एक विशेष समारोहका बीच सम्मान गरिएको छ । टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा-८ को आयोजनामा आज चन्द्रोदय माध्यमिक विद्यालयको हलमा “सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रम” सम्पन्न भएको हो । शैक्षिक यात्राको महत्त्वपूर्ण तह पार गरी भविष्यको मार्गचित्र कोर्न लागेका वडाका विद्यार्थीहरूलाई हौसला प्रदान गर्ने र सही दिशा निर्देश गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।
टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा-८ का अध्यक्ष कुमार केसीको सभाध्यक्षतामा सम्पन्न उक्त भव्य कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा विशेष अतिथिका रूपमा हेटौँडा उपमहानगरपालिका ८ नम्बर वडाका वडा अध्यक्ष रामकृष्ण थापा उपस्थित हुनुहुन्थ्यो । समारोहमा पूर्व जिल्ला समन्वय समितिका सदस्य गणेश कुमारी श्रेष्ठ, पूर्व जिल्ला विकास समितिका सदस्य पूर्णध्वज खड्का, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारी र गैर सरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखा मकवानपुरका सहसचिव गोकर्ण तिवारी लगायतका अतिथिहरूको विशिष्ट उपस्थिति रहेको थियो ।
दुई चरणमा सञ्चालन गरिएको उक्त कार्यक्रमको पहिलो चरणमा विद्यार्थीहरूलाई भविष्यमा सही शैक्षिक संकाय र पेसागत मार्ग रोज्न सहज होस् भन्ने उद्देश्यले करियर काउन्सिलिङ गरिएको थियो । काउन्सिलिङ सेसनमा मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक एवं अधिवक्ता देवेन्द्र ढकालले मुख्य सहजकर्ताको रूपमा विद्यार्थीहरूलाई भविष्यको यात्राका बारेमा महत्त्वपूर्ण मार्गदर्शन गराउनुभएको थियो । दोस्रो चरणमा हेटौँडा-८ बाट यस वर्ष प्लस टु उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने सोही अवसरमा टोल विकास संस्था वडा समन्वय समिति ८ नम्बर वडाका पूर्व पदाधिकारी तथा सदस्यहरूलाई समेत संस्थामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि डोरमणि पौडेल, वडा अध्यक्ष रामकृष्ण थापा, ध्रुव प्रसाद अधिकारी र सभाध्यक्ष कुमार केसीले मन्तव्य राख्दै सम्मानित सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो । टोल विकास संस्था वडा समन्वय समितिले सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज अन्तिम दिन यो विशेष कार्यक्रमको आयोजना गरिएको हो ।








