असार २२
पाँच पटकको विश्वकप विजेता ब्राजिल जारी २३औं फिफा विश्वकपको अन्तिम १६ बाटै बाहिरिएर घर फर्कन बाध्य भएको छ। अमेरिकाको न्यु जर्सीस्थित रंगशालामा भएको रोमाञ्चक खेलमा युरोपियन राष्ट्र नर्वेसँग २-१ ले पराजित भएसँगै २४ वर्षपछि छैटौं तारा थप्ने ब्राजिलको सपना अधुरै बनेको हो। २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेका लागि विश्व फुटबलकै घातक स्ट्राइकर एर्लिङ हालान्ड नायक बने। खेलभरि ब्राजिलका डिफेन्डर गाब्रियलको कडा मार्किङमा रहेका हालान्डले दोस्रो हाफमा दुई शानदार गोल गर्दै नर्वेलाई इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुर्याए। यो अप्रत्यासित नतिजाले विश्वभरका फुटबल प्रशंसकहरूलाई स्तब्ध बनाएको छ।
खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रामक रणनीति अपनाएका थिए। चौथो मिनेटमै नर्वेका प्याट्रिक बर्गले गरेको गोल अफसाइडका कारण रद्द भएको थियो भने १४औं मिनेटमा ब्राजिलले खेलमा अग्रता लिने सुवर्ण अवसर गुमायो। माथेयस कुन्हालाई बक्सभित्र लडाइएपछि पाएको पेनाल्टीमा ब्राजिलका मिडफिल्डर ब्रुनो गुइमाराएसको प्रहारलाई नर्वेका ३५ वर्षीय गोलकिपर ओर्जन नाइल्यान्डले उत्कृष्ट बचाउ गरे। पहिलो हाफ गोलरहित सकिए पनि ७९औं मिनेटमा हालान्डले हेडमार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाए। लगत्तै ९०औं मिनेटमा हालान्डले बक्स बाहिरबाट उत्कृष्ट ‘लो ड्राइभ’ गोल गर्दै टोलीको जित सुनिश्चित गरे। खेलको अन्तिम सेकेन्डमा ब्राजिलले पाएको पेनाल्टीमा स्टार खेलाडी नेयमारले सान्त्वना गोल गरे पनि त्यो टिमलाई बचाउन पर्याप्त भएन।
यस पराजयसँगै ब्राजिलले ३६ वर्षपछिको सबैभन्दा खराब कीर्तिमान बनाएको छ, जहाँ टोली सन् १९९० यता पहिलो पटक क्वार्टरफाइनलमा पुग्न असफल रह्यो। ऐतिहासिक रूपमा ८८ राष्ट्रसँग खेल्दा नर्वेलाई मात्र हराउन नसकेको ब्राजिलको जितविहीन यात्रा ५ खेल पुगेको छ। यो प्रतियोगितामा केवल ३३.५ प्रतिशत बल पोजेसन राखेको ब्राजिलको प्रदर्शनले मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीको भविष्यमाथि समेत ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ। हारको पीडामाझ ब्राजिलका लागि सर्वाधिक ८० गोल गरेका नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। अर्कोतर्फ, यसै खेलका दुई गोलसँगै कुल ७ गोल पुर्याएर हालान्ड गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा उक्लिएका छन् र अब नर्वेले क्वार्टरफाइनलमा इंग्ल्याण्ड वा मेक्सिकोको सामना गर्नेछ।








