प्रेस युनियन मकवानपुरद्वारा ५० हजारको ‘सीतादेवी स्मृति सम्मान’ शिवाकोटीलाई प्रदान

मकवानपुर । नेपाल प्रेस युनियन मकवानपुरद्वारा स्थापित जिल्लाकै सर्वाधिक राशीको पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी सुदीप शिवाकोटी सम्मानित हुनुभएको छ। शुभदीपावलीको पावन अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान तथा विशेष समारोहका बीच शिवाकोटीलाई नगद रु. ५० हजारसहित ‘स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता सम्मान–२०८३’ प्रदान गरिएको हो।

​नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल हुनुहुन्थ्यो। समारोहमा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहाल तथा पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट लगायतका अतिथिहरूको सहभागिता रहेको थियो। अतिथिवृन्दले संयुक्त रूपमा शिवाकोटीलाई दोसल्ला, सम्मानपत्र र नगद पुरस्कार हस्तान्तरण गर्नुभयो।

​गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय संस्थापक सचिव एवम् हाल बेलायत निवासी चिरञ्जीवी ढकालको सौजन्यमा यो अक्षयकोष तथा सम्मानको स्थापना गरिएको हो। पत्रकारिताको माध्यमबाट समाज र क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै प्रदान गरिएको यो पुरस्कारले मोफसलमा रहेर कलम चलाउने पत्रकारहरूलाई थप हौसला र प्रोत्साहन मिल्ने कार्यक्रमका वक्ताहरूले बताए।

​लामो समयदेखि पत्रकारितामा निष्ठापूर्वक क्रियाशील रहँदै आउनुभएका शिवाकोटी हाल कान्तिपुर मिडिया ग्रुपका अमेरिका संवाददाताका रूपमा कार्यरत हुनुहुन्छ। प्रेस युनियन मकवानपुरका सदस्य रहनुभएका उहाँ यसअघि नेपाल पत्रकार महासंघ बागमती प्रदेश कमिटी सदस्य तथा मकवानपुर शाखाको कोषाध्यक्ष पदमा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्हालिसक्नुभएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.