चितवन, कार्तिक १६ — बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल चितवनका विभिन्न महत्वपूर्ण कार्यक्रमहरूमा सहभागी हुनुभएको छ। नेपाल शिक्षक संगठन भरतपुर महानगर समितिको तेस्रो अधिवेशनमा सहभागी हुने मुख्य उद्देश्यका साथ चितवन पुग्नुभएका मन्त्री पौडेलले भ्रमणका क्रममा विकास निर्माण, आर्थिक गतिविधि, विपद् जोखिम र राजनीतिक-सामाजिक विषयहरूसँग सम्बन्धित विविध क्षेत्रको वस्तुस्थिति बुझ्नुभएको छ।
भ्रमणका क्रममा मन्त्री पौडेलले स्थानीय आर्थिक गतिविधि र सहकारी क्षेत्रको सम्भावनालाई नजिकबाट अवलोकन गर्नुभएको छ। उहाँले दुग्ध सहकारीद्वारा भरतपुरमा सञ्चालित मार्टको प्रत्यक्ष निरीक्षण गर्दै सहकारीमार्फत भइरहेका व्यावसायिक प्रयास र आगामी आर्थिक सम्भावनाहरूबारे जानकारी लिनुभयो। त्यसैगरी, उद्योग वाणिज्य संघ चितवनद्वारा आयोजित स्वागत कार्यक्रममा सहभागी भई उहाँले स्थानीय उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूसँग क्षेत्रगत चुनौती र विकासका सम्भावनाबारे गहन छलफल गर्नुभयो।
विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी लिन मन्त्री पौडेल नारायणी नदी किनार पुग्नुभएको थियो। सो क्रममा उहाँले नारायणी नदीको कटान तथा बाढीजन्य विपद्को वर्तमान अवस्था र सम्भावित जोखिमको स्थलगत निरीक्षण गर्नुभयो। स्थानीय स्तरमा बाढी नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ।
यसैगरी, मन्त्री पौडेलले आफ्नो भ्रमणलाई राजनीतिक तथा नागरिक संवादसँग समेत जोड्नुभएको छ। उहाँ भरतपुर महानगरपालिका वडा नं. ११ मा आयोजित पार्टी बैठकमा सहभागी हुनुका साथै स्थानीय नेता, कार्यकर्ता र सर्वसाधारण नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्नुभयो। शिक्षक संगठनको अधिवेशनका साथै सहकारी, उद्योग व्यवसाय, विपद् व्यवस्थापन र जनताका गुनासो सुन्ने जस्ता बहुआयामिक कार्यक्रमहरूमा मन्त्री पौडेलको सक्रिय सहभागिता रहेको थियो।



















