शैक्षिक सहयोग अक्षयकोषको वार्षिक साधारणसभा सम्पन्न, तीन विद्यार्थीले पाए जनही १० हजार छात्रवृत्ति

मकवानपुर, मंसिर ५ । मकवानपुरमा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले क्रियाशील शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुरले आफ्नो सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार आयोजित सभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था तथा आगामी योजनाबारे समीक्षा गरिएको थियो । संस्थाका अध्यक्ष रघुनाथ खुलालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले शिक्षाबाट कोही पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्थापित संस्थाको अभियान प्रशंसनीय रहेको बताउनुभयो । विपन्नता, अभिभावकविहीन अवस्था तथा विभिन्न सामाजिक परिस्थितिका कारण पढाइलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीलाई सहयोग गर्नु समाजप्रतिको महत्वपूर्ण दायित्व भएको उहाँको भनाइ थियो । उहाँले संस्थाको लक्ष्यलाई सार्थक बनाउन व्यक्तिगत, सामाजिक तथा संस्थागत तहबाट सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सभापति खुलालले संस्थाले आर्थिक अभावमा रहेका, असहाय, अनाथ, अभिभावक गुमाएका तथा जोखिमपूर्ण परिस्थितिमा रहेका बालबालिकालाई शिक्षाको अवसर उपलब्ध गराउने लक्ष्यसहित काम गरिरहेको जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा नागरिकस्तरबाट सहयोग जुटाउने अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उहाँले मकवानपुरका शैक्षिक सरोकारवालालाई संस्थाको अभियानमा जोडिन आग्रह गर्नुभयो ।

साधारणसभाले संस्थाका सचिव बद्री पाठकद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सुधिर थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । संस्थामा हाल संस्थागततर्फ ३७, विशिष्टतर्फ १२ र आजीवनतर्फ ९५ जना गरी १४४ सदस्य आबद्ध छन् । संस्थाले सञ्चालन गर्दै आएको अक्षयकोषमा हालसम्म करिब २२ लाख रुपैयाँ संकलन भएको जानकारीसमेत सभामा गराइएको थियो ।

यसैबीच, साधारणसभाको अवसर पारेर संस्थाले अध्ययनरत तीन जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत दुई जना र चन्द्रोदय माध्यमिक विद्यालय, कमानेका एक जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइएको हो । संस्थाको निर्धारित कार्यविधिअनुसार आवेदन माग गरी प्राप्त निवेदनमध्येबाट छनोट भएका विद्यार्थीलाई उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका विभिन्न श्रेणीका सदस्य, शिक्षाकर्मी तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.