मकवानपुर । नेपाली कांग्रेसको संगठनलाई प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकामा डिजिटल प्रविधिसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको परिपत्रअनुसार नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका कार्यसमितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रम गाउँपालिका कार्यसमितिका सभापति देवबहादुर थिङको सभापतित्व तथा पार्टीकी केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि एवं बागमती प्रदेशसभा सदस्य गीता गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले बदलिँदो समय र प्रविधिको विकाससँगै राजनीतिक दलका गतिविधि तथा संगठनात्मक संरचनालाई पनि डिजिटल प्रविधिसँग जोड्न आवश्यक रहेको बताउनुभयो। उहाँले डिजिटल प्रविधिको प्रभावकारी प्रयोगले पार्टीको अभिलेख व्यवस्थापन, सूचना तथा सञ्चार प्रणाली, संगठनात्मक गतिविधिको अभिलेखीकरण र जनतासँगको प्रत्यक्ष संवादलाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको प्रारम्भमा गाउँपालिका कार्यसमितिका सभापति देवबहादुर थिङले प्रमुख अतिथि गुरुङसहित उपस्थित अतिथि तथा सहभागीहरूलाई खादा र मालासहित स्वागत गर्नुभएको थियो।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य जानकी लामा विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी, प्रदेश प्रतिनिधि विकास ब्लोन, बागमती प्रदेश भ्रातृ संघ समन्वय विभागका मोहन नगरकोटी तथा क्षेत्रीय सचिव रामशरण दोङलगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा दीपा सुनारले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन टिकाराम थिङले गर्नुभएको थियो।
अभिमुखीकरण कार्यक्रममा राक्सिराङ गाउँपालिकाअन्तर्गतका विभिन्न वडाका पार्टी सभापति तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी वडा सभापतिहरूमा वडा नं. १ का सिङराम ब्लोन, वडा नं. २ का सुबबहादुर घलान, वडा नं. ४ का अशोक घलान, वडा नं. ५ का प्रकाश राणा प्रजा, वडा नं. ६ का दिपेश प्रजा, वडा नं. ७ का रामबहादुर प्रजा, वडा नं. ८ का राजकुमार स्याङ्तान र वडा नं. ९ का शुक्रबहादुर प्रजा रहनुभएको थियो।
कार्यक्रमले पार्टीको तल्लो तहसम्म डिजिटल प्रविधिको पहुँच विस्तार गर्न, संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउन तथा सूचना प्रवाह र अभिलेख व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
डिजिटल युगअनुरूप पार्टी संगठनलाई प्रविधिमैत्री बनाउँदै स्थानीय तहदेखि नै संस्थागत क्षमता अभिवृद्धि गर्ने दिशामा कार्यक्रमलाई महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।



















