बनेपा (काभ्रेपलाञ्चोक), मंसिर २ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश संरचनालाई अनुत्पादक र खर्चिलो भन्दै ‘सेतो हात्ती’ को संज्ञा दिने गरिएकोप्रति कडा असन्तुष्टि जनाउनुभएको छ । बुधबार बनेपास्थित शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालको नवनिर्मित बहिरंग (ओपीडी) भवनको समुद्घाटन गर्दै उहाँले प्रदेश सरकार आमनागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी विकास र सेवा प्रवाहमा खटिएको स्पष्ट पार्नुभयो । राज्यको कुल चालु खर्चमध्ये संघीय सरकारको हिस्सा ८० प्रतिशत र स्थानीय तहको १५ प्रतिशत रहँदा प्रदेशको चालु खर्च केवल ५ प्रतिशतमा सीमित रहेको तथ्यांक प्रस्तुत गर्दै मुख्यमन्त्री थापाले न्यून प्रशासनिक खर्चमा पनि देखिने गरी पूर्वाधार विकास भएकाले प्रदेश सरकारलाई बदनाम गराउन खोजिएको जिकिर गर्नुभयो ।
विगत नौ वर्षको संघीय अभ्यासमा प्रदेशले उल्लेखनीय आधार तयार पारिसकेको दाबी गर्दै उहाँले अब अधुरा योजनाहरूलाई पूर्णता दिने समय आएको बताउनुभयो । एकआपसमा हिलो छ्याप्ने राजनीति छाडेर तीनै तहका सरकारबीच स्पष्ट कार्यविभाजन र नीतिगत तालमेल हुनुपर्नेमा उहाँले जोड दिनुभयो । भौतिक संरचनाको विस्तारसँगै अब गाउँगाउँमै गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सिर्जना गर्न सके काठमाडौं उपत्यकामा थुप्रिएको जनसंख्याको चाप स्वतः घट्ने मुख्यमन्त्री थापाको तर्क थियो ।
पछिल्लो साढे तीन दशकमा मुलुकले केही गरेन भन्ने भाष्यलाई गलत साबित गर्न नेपालीको औसत आयु ७२ वर्ष पुग्नु र प्रत्येक जिल्लामा विशेषज्ञ सेवासहितका प्रादेशिक अस्पताल सञ्चालन हुनु नै पर्याप्त प्रमाण भएको उहाँले उल्लेख गर्नुभयो । घरघरमा खानेपानी, गाउँमा सडक सञ्जाल र आधारभूत स्वास्थ्य केन्द्रको स्थापनाले ग्रामीण जीवनस्तरमा सुधार ल्याएको बताउँदै उहाँले सामुदायिक अस्पतालहरूको संरक्षणका लागि आफू स्वास्थ्यमन्त्री हुँदा नै कानुनी बाटो खोलिदिएको स्मरण गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री थापाले शीर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सेवा विस्तार गर्न प्रदेश सरकारले २ करोड रुपैयाँ बजेट छुट्याएको घोषणा गर्नुभयो । सामुदायिक अस्पताललाई सिधै अनुदान दिन नमिल्ने कानुनी जटिलताका कारण बनेपा नगरपालिकामार्फत उक्त रकम हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो । यदि संघीय सरकारले रेडियोथेरापी उपकरण राख्ने बंकर निर्माणमा सघाएमा आवश्यक मेसिन खरिदका लागि प्रदेश सरकारले थप बजेटको प्रबन्ध मिलाउने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।
राज्यको एक्लो प्रयासले मात्र समृद्धि सम्भव नहुने भन्दै मुख्यमन्त्री थापाले ओपीडी भवन निर्माणमा आर्थिक सहयोग गर्ने समाजसेवी राजभाइ प्रधानको योगदानको उच्च कदर गर्नुभयो । धनसँगै सेवाभाव भएका दाताहरूको सहकार्यले सामाजिक विकासमा ठूलो टेवा पुग्ने उहाँको भनाइ थियो । काभ्रेपलाञ्चोकसहित छिमेकी जिल्लाका बिरामीहरूको प्रमुख गन्तव्य बनेको यस अस्पतालको स्तरोन्नतिले स्थानीय नागरिकले गुणस्तरीय उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिइएको छ ।



















